Logo

प्रचण्डज्यू, लाजै नभएर कांग्रेसलाई लासको राजनीति गर्न खोज्यो भन्ने–नारायण खड्का



साउन ८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले संसदमा लगिएको चिकित्सा शिक्षा विधेयक सरकारले फिर्ता लिएपछि मात्रै समस्या समाधान हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले अनशन बसिरहेका गोविन्द केसीको जायज माग पूरा गर्नका लागि सरकार तयार हुनुपर्ने बताए ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्नै खड्काले यस्तो शैलीले समस्या समाधान नहुने जिकिर गरे ।

“अनशन तोडेर वार्तामा आउने रे, यो भन्दा गैरजिम्मेवार अभिव्यक्ति के हुन्छ ? कांग्रेसलाई गाली गरेर देश बन्छ ?” खड्काले प्रश्न गरे ।

प्रचण्डले कांग्रेसका विषयमा दिएको अभिव्यक्तिको पनि खड्काले आलोचना गरे । “प्रचण्डजी जस्तो नेताको म सम्मान गर्छु । तर उहाँले विगतमा गोविन्द केसीका माग जायज छने भनेर भन्नुभएकै हो । त्यसबेलाको सरकारलाई केसीको माग पूरा गराउन जोडदार माग गर्छु भनेर खेलेको कुरालाई विर्सेर अहिले लाजै नभएर कांग्रेसलई लासको राजनीति गर्न खोज्यो भन्ने ?”

“प्रचण्डलाई भूत र आत्माहरुले सायद सताइरहेको होला । अहिले नेपाली कांग्रेसलाई गाली गरेर गोविन्द केसीको माग पूरा हुँदैन । प्रचण्डको मुखबाट यस्ता कुरा आउँदा मलाई बडो अचम्म लागेको छ ।” खड्काले भने ।

केसीलाई कांग्रेसले बोकेर हिँडेको नभै जायज मागलाई समर्थन मात्रै गरिएको खड्काले स्पष्ट पारे ।

के भनेका थिए प्रचण्डले ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी कांग्रेसले डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा चर्को आलोचना गरेका थिए ।

अनसनरत डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै उनले कांग्रेसले आन्दोलन गरेकोमा आक्रोश पोखेका थिए ।

पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न चाहन्छ, लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।’



प्रतिक्रिया दिनुहोस्