Logo

श्रष्टा,पदक विजेता र पत्रकारलाई सम्मान तथा पुरस्कार



काठमाडौँ, १४ साउन । प्रदेश नं ५ मा मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकूदको लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई सम्मान गरिएको छ । लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका थिए । विष्टलाई लोगोका लागि रु ४५ हजार र मस्कटका लागि रु ३५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यस्तै गीत रचनाकार नारायण खतिवडालाई रु २५ हजार र नारा रचनाकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई पुरस्कृत गरियो । सदस्य–सचिव विष्टले भने आफ्नो पुरस्कार रकम राखेपकै खातामा जम्मा गर्ने बताएका छन । सोही अवसरमा संगीतकार वसन्त सापकोटालाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

पदक विजेता र पत्रकार सम्मानित

सोही कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयले पाँच पदक विजेता खेलाडीसहित दुई खेल पत्रकारलाई सम्मान गरेको थियो । खेलकूद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ बमोजिम आव २०७४÷७५ मा भएका अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेता पाँच खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।

कम्बोडियामा भएको विश्व खुन खेमर च्याम्पियनसिपका स्वर्ण पदक विजेता अनिशा खड्का र राहुल थोकर लामालाई जनही रु एक लाख नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो । मंगोलियामा भएको नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जन रु ६५ हजार तथा सोही प्रतियोगिताका कांस्य पदक विजेता रुजेश शाही रु ३५ हजार नगदसहित सम्मानित भए ।

त्यस्तै दक्षिण कोरियामा भएको ५१औँ एसियाली पुरुष भारोत्तोलनका कांस्य पदक विजेता कमल भण्डारीलाई रु ३५ हजार नगदसहित सम्मान गरियो । सम्मानित हुने पत्रकारमा नेपाल टेलिभिजनका राजु सिलवाल र बिबीसी नेपाली सेवाका खेल पत्रकार निरञ्जन राजवंशी रहेका छन् ।

दुवैलाई जनही रु ५० हजारसहित सम्मानपत्र प्रदान गरियो । उनीहरुलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, खेलकूद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका थिए। रासस



प्रतिक्रिया दिनुहोस्