-नेपाल र नेदरल्याण्ड्सबीच आज खेल हुने भिआरए मैदान
साउन १६, काठमाण्डौ । नेपाल र नेदरल्याण्ड्सको क्रिकेटमा एउटा संयोग छ ।
सन् १९९६ मा नेदरल्याण्ड्सले पहिलोपटक वान डे वर्ल्डकप खेलेको वर्ष नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला अगाडि बढाएको थियो ।
त्यसयता नेदरल्याण्ड्सले कूल ४ पटक ५० ओभरको वर्ल्डकप खेलिसकेको छ ।
यता पहिलोपटक ओडिआई स्ट्याटस पाएको नेपाललले सन् २०१४ मा पहिलो पटक टी २० वर्ल्डकप खेलेको थियो ।
माथिको तथ्यले नेपाल र नेदरल्याण्डस्बीचको अन्तर छर्लङ्ग हुन्छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेल खेल्दैछ ।
सन् २०१२ मा डिभिजन ४ र २०१३ मा डिभिजन ३ जितेको नेपाल २०१४ को विश्वकप छनोटबाट रेलिगेसन भएपछि डिभिजन ३ मा झरेको थियो। अर्को वर्ष पुनस् डिभिजन ३ जितेको नेपालले डिभिजन २ मा अडिएर विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो।
च्याम्पियनसिपमा ८ टोलीमा सातौं भएको नेपालले फेब्रुअरीमा पुनस् डिभिजन २ खेलेको थियो। फाइनल पुगेर विश्वकप छनोटमा पुगेको नेपालले त्यही आठौं स्थान हात पारेपछि ऐतिहासिक छलाङ मार्दै एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाएको थियो।
नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग दुई खेलको ओडिआई सिरिज खेल्न लागेको हो । त्यसको पहिलो खेल आज दिउँसो नेपाली समयअनुसार २ः४५ बजे नेदरल्याण्ड्सको आम्स्टलभनस्थित भिआरए मैदानमा हुँदैछ ।
नेदरल्याण्ड्ससँग ओडिआई खेलेपछि नेपाल वान डे इन्टरनेशनल क्रिकेट खेल्ने २३ औँ राष्ट्र बन्नेछ । अहिलेसम्म २२ राष्ट्रले ओडिआई खेलिसकेका छन् । त्यसमध्ये १२ राष्ट्रसँग टेष्ट मान्यता छ । यस्तै विश्व ११, एसिया ११ र अफ्रिका ११ सहित २६ टोलीले ओडिआई खेलेका छन् । नेपाल समग्रमा ओडिआई खेल्ने २७औँ टोली बन्नेछ ।
गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्ड कप क्वालिफायरमा एसोसिएटतर्फ शीर्ष तीनमा रहँदै नेपालले आगामी चार वर्षको लागि ओडिआई स्ट्याटस पाएको हो । यस्तै सन् २०१४ मा ओडिआई स्ट्याटस गुमाएको नेदरल्याण्ड्सले २०१५–१७ को वर्ल्ड क्रिकेट लिग च्याम्पियन जित्दै ओडिआई स्ट्याटस पुनः पक्का गरेको थियो ।
नेपाल र नेदरल्याण्ड्सबीच यसअघि ५० ओभरको खेल ५ पटक भएको छ जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ ।