साउन १६, काठमाण्डौ । संसदीय सुनुवाई समितिका संयोजक लक्ष्मणलाल कर्णले आज साँढे तिनबजे बस्ने समितिको बैठकले प्रधानन्यायाधीशबारे निर्णय गरिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई स्विकृत वा अस्विकृत गर्ने निर्णय आजै हुने दाबी गरेका हुन् ।
समितिमा एकमत हुन नसके दुई तिहाई बहुमतका आधारमा जोशीबारे निर्णय गरिने कर्णले बताए ।
दिपकराज जोशीलाई संवैधानिक परिषदले सिफारिस गरे पनि संसदीय समितिले अयोग्य ठहर गर्न सक्ने कर्णको भनाई छ ।
“न्याय परिषदले संवैधानिक परिषदमा नामावाली पठाउँछ । संवैधानिक परिषदले एउटा नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्छ । त्यसपछि संसदीय सुनुवाई समितिले अन्तिम निर्णय गर्छ ।” कर्णले भने । “संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई समितिले अनुमोदन गर्न पनि सक्छ, नगर्न पनि सक्छ ।”
कर्णले नेपालको संविधान नै त्रुटिपूर्ण भएकाले बेला बेलामा यस्ता विवाद आउने गरेको बताए ।