काठमाडौँ, २१ साउन । स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले आज विमानस्थलमा खादा तथा माला लगाएर भब्य स्वागत गरेका छन ।औपचारिक क्रिकेट खेल्न थालेको तीन दशकको हाराहारीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट एक दिवसीय मान्यता पाएको नेपाली क्रिक्रेट टोली पहिलो खेल खेलेर स्वदेश फर्किएको हो।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रशिक्षक जगत टमामाले एकदिवसीय मान्यता पाएपछि खेलिएको पहिलो खेलमै जित हात पर्नु नेपाली क्रिकेटको लागि एक सुखद सुरुवात रहेको बताएका छन।उनले यस्तै प्रदर्शन गरे नेपालले छिट्टै नै टेस्ट राष्टको मान्यता पाउनेमा आफू विश्वस्त रहेको र खेलाडीहरुको प्रदर्शन आफूलाई निकै राम्रो लागेको जानकारी गराएका हुन ।
त्यसै गरी कप्तान पारस खड्काले समग्रमा डेब्यु अन्तर्राष्ट्रिय एकदिवसीय खेल राम्रो भएको प्रतिक्रिया दिएका छन । खड्काले पहिलो म्याचमा जितको आधार तय भए पनि मोमेनटम पक्रन नसक्दा पराजय भोग्नु परे पनि बलिङ्गमा प्रदर्शन निकै राम्रो रहेको र ओपनिङ्गले राम्रो प्रदर्शन गरे पनि मध्य क्रमका ब्याट्सम्यान चल्न नसक्नुनै पहिलो खेलको हारको मुख्य कारण रहेको बताए।
टोलीका महत्वपूर्ण सदस्य लेग स्पिनर सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका छन ।नेपालले आफ्नो पहिलो एकदिवसीय शृङ्खला नेदरल्याण्डसंग खेलेको थियो । पहिलो खेल हारेको नेपालले दोस्रो खेल आफ्नो पक्षमा पारेको थियो । नेपालले नेदरल्याण्डबिरुद्ध एक रनको रोमाञ्चक जित हात पारेर नेपाल फर्कीकएको हो।तस्विरः मुकुन्द कालिकोट