काठमाडौँ, २६ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा हुने खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितालाई एशियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मसले मुख्य प्रायोजन गर्ने भएको छ ।
मुख्य प्रायोजन गरेबापत एशियाले आयोजकलाई रु एक लाख उपलब्ध गराउने एशियाका प्रोप्राइटर दिनेश शाहीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन। यही साउन २८ गतेदेखि चाबहिलको गणेशथानमा हुने प्रतियोगितामा मोफसलका पाँचसहित १२ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी गराए ।
प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई एशियाकै ब्यानरमा बनेको जय शम्भु फिल्मको चार वटा टिकट प्रदान गरिनेछ । उक्त फिल्म आगामी भदौ १ गतेदेखि प्रदर्शनमा आउने निर्माता दिनेश शाहीले बताए ।
‘नकआउट’ आधारमा हुने प्रतियोगिताको फाइनल भदौ २ गते हुनेछ । रासस