Logo

भारतसँग जलस्रोतसम्बन्धी छाता सम्झौता गर्नुपछः सह–महामन्त्री महत



काठमाडौं, २९ साउन ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं जोड्ने रेल चीन र भारत दुवै देशले अनुदानमा बनाईदिनुपर्ने बताएका छन् । महतले भने,‘नेपालको लगानी गर्ने क्षमता छैन । दुवै देशले रेल अनुदानमा बनाईदिनुपर्छ ।’

भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले भारत नेपालको सबै हिसाबले ज्यादा सम्भावना भएको देश भएको बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘आगामी दिनमा आपसी विश्वासका आधारमा हामीबीच अझ सम्बन्ध धेरै विकसित होस् । एक–अर्काको चासो र चिन्तालाई दुवै देशका नेतृत्वले सिधै राख्नुपर्छ ।’

महतले द्धिपक्षीय सम्बन्धका कुराहरुलाई सडकमा उछाल्न नहुने समेत स्पष्ट पारे । उनले भने,‘सत्तामा जान भ¥याङको रुपमा सम्बन्धलाई प्रयोग गर्नुहुँदैन् । जे कुराहरु छन्, ती सबै कुटनीतिक टेबुलमा तर्कसहित राख्नुपर्छ ।’ सडकमा र जनतातिर फर्केर आफ्ना कुरा राख्न नहुने उनको तर्क छ ।

महतले भने,‘हाम्रो पार्टी सरकारमा हुँदा समस्याहरु ठाउँमा राखेको थियो । हामीले सडकमा उछाल्ने काम गरेनौं । भारतले नेपालमा धेरै सहयोग गरिरहेको छ । अहिले हुलाकी राजमार्ग निर्माणधिन छ । भारतले अनुदानमा बनाएको उक्त परियोजना छिटो सम्पन्न होस् । हामीलाई आँफै ठेक्काको जिम्मेवारी समेत भारतले दिएको छ।’

भुकम्पपछिको पूर्ननिर्माणको लागि भारतले ठूलो सहयोग राशी दिएको उल्लेख गर्दै उनले हरेकपटक पूर्ननिर्माणको सिईओ फेर्दा काम हुन नसकेको गुनासो पोखे । डुबानको समस्या समाधानको कुरा आफू परराष्ट्रमन्त्री हुँदा भारतीय पक्षसँग राखेको उनको दाबी छ ।

नेपाल–भारत सम्बन्धका धेरै आयामहरु रहेको सुनाउँदै उनले भने,‘द्धिपक्षीय सम्बन्ध घनिष्ठ छ । भारतसँग नेपालको बहुपक्षीय र बहु–आयामिक सम्बन्ध छ । घनिष्ठ सम्बन्ध भएकोले केही समस्याहरु पनि भैहाल्छन् । सम्बन्ध नै नभएको ठाउँमा पो समस्या हुँदैन, सम्बन्ध प्रगाढ भएकोले समस्या हुनु स्वभाविक हो ।’ नेपालले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने उनको सुझाव छ ।

नेपाल–भारतलाई हिन्दु र बुद्धिष्ट सर्किटमार्फत जोड्न सकिने उनको जोड छ । महतले भने,‘पर्यटन–धार्मिक रुपमा एक अर्को देशलाई जोड्न सकिन्छ । अब हिन्दू र बुद्धिष्ट सर्किटमार्फत जोड्ने काम हुन्छ ।’ नेपालको पर्यटन क्षेत्रको विकासको लागि फाष्ट ट्रयाक जरुरी रहेको उनको भनाई छ । उनले भने,‘भारत सहयोग गर्न ईच्छुक छ।’

व्यापार घाटा कम गर्नको लागि नेपालले पर्यटनको अलावा जलस्रोतको पनि विकास गर्नुपर्ने महतको भनाई छ । उनले भने,‘यसको लागि भारतसँग जलस्रोतसम्बन्धी छाता सम्झौता गर्नुपर्छ । यसमा सिँचाई, खानेपानी र विद्युत पनि पर्छ । केही प्रतिशत प्रतिफल पाउनेगरि सम्झौता गर्नुपर्छ ।’

महतले भने,‘भारतमा सफलतापूर्वक लोकतान्त्रिक पद्धती चलेको छ । यो दुनियाँको लागि कल्पना बाहिरको कुरा हो ।’ नेता महतले भारतले लोकतान्त्रिक सभ्यतालाई अझै घनिभूत बनाओस् भन्ने शुभकामना समेत दिए ।



प्रतिक्रिया दिनुहोस्