Logo

विपद्बाट रु दुई अर्ब बढीको क्षति



काठमाडौँ, ५ भदौ । विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट उक्त क्षति भएको हो । जसमध्ये आगलागीका कारण सबैभन्दा धेरै क्षति भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार आगलागीका कारण रु एक अर्ब ८९ करोड ३९ लाख ७७ हजार ८५०, बाढीले रु तीन करोड १४ लाख ६३ हजार ९००, पहिरोले रु सात करोड ९८ लाख ४१ हजार ५०० को क्षति भएको छ । वर्षात्ले रु तीन करोड ८६ लाख ८६ हजार ३६०, हावाहुरीले रु तीन करोड ५८ लाख १६ हजार ९९८, चट्याङले रु ४४ लाख ७७ हजार, असिनापानीले रु चार लाख ५७ हजार र अन्य कारणबाट रु १० लाख १९ हजार ९०० मूल्य बराबरको क्षति भएको छ ।

विपद्का कारण चार हजार ६९८ परिवार प्रभावित भएका छन् भने एक हजार ६५७ जनावर मरेका छन् । यो वर्षमात्र प्राकृतिक प्रकोपका घटनाबाट ५६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये पुरुष ३७८ र महिला १८३ छन् । यस्तै ९५ हराइरहेका छन् भने दुई हजार ३३१ घाइते भएका छन् । गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल प्राकृतिक प्रकोपबाट हुने घटनाको उद्दार र राहतका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्