काठमाडौं, ७ भदौ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा. डिल्लीराज खनालले समयको हिसाबलेपनि विमस्टेक शिखर सम्मेलन नेपालको लागि अतिनै महत्वपूर्ण रहेको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले विमस्टेक शिखर सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै खनालले भने,‘अहिले नेपालको लागि समय र सन्दर्भको हिसाबलेपनि विमस्टेक शिखर सम्मेलन अतिनै महत्वपूर्ण छ । यो हाम्रो लागि राम्रो अवसरपनि हो । हामीले यो अवसरलाई राष्ट्रको हितमा उपयोग गर्नुपर्छ ।’
सार्वजनिक खर्च पूनरावलोकन आयोगका संयोजक समेत रहेका खनालले यो सम्मेलनमार्फत नेपालले हामी समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा अघि बढ्दैछौं भन्ने सन्देश पनि दिनुपर्ने बताए । उनले भने,‘विमस्टेकले तय गरेका विभिन्न १४ वटा प्राथमिकताका क्षेत्र र विषयहरुमा हामीले मुलतः व्यापार, उर्जा, कृषि, प्रविधि र गरिवी निवारणमा हामी अधिकतम केन्द्रित हुनुपर्छ । यसपटकको सम्मेलनमार्फत हामीले यही सन्देश दिन सक्नुपर्छ । हामीले खास खास विषयहरु पहिल्याउनुपर्छ, जसले सबैको विन विनको अवस्था होस्।’
त्यस्तै उनले लगानी भित्र्याउनको लागि यो सम्मेलनको सही सदुपयोग गर्नुपर्ने सुझाव दिए । उनले भने,‘वितगमा भएका सम्मेलनका निर्णयहरु कार्यान्वयन गर्नतर्फ समेत यो सम्मेलनले जोड दिनुपर्छ । सबै सम्मेलनका निर्णयहरु कार्यान्वयन हुने वातारण बनाउनुपर्छ ।’
विमस्टेक र सार्कलाई समानान्तर रुपमा अघि बढाउनुपर्ने उनको धारणा छ । खनालले भने,‘सार्कलाईपनि अब त्यही ढंगले सक्रि बनाउनुपर्छ । पाकिस्तानमा नयाँ प्रधानमन्त्री आउनुभएको छ । अब सार्कलाई एक्टिभ बनाउनतिर सोच्नुपर्छ ।’ विमस्टेक सम्मेलनले खाली कस्मेटिक हिसाबले नभएर कार्यान्वयनमा जाने खालका निर्णयहरु गर्नुपर्ने खनालको भनाई छ । उनले भने,‘बरु विशिष्ट संरचनाहरुको आवश्यक परे, त्योपनि बनाउनुपर्छ ।’