धनराज वास्तविक : राराताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित् नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ ।
जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।
उक्त ताललाई नियाल्ने र क्यामेरामा कैद गर्नेहरुको संख्या वर्षेनी बढ्दैछन् । सुन्दर रारासम्म जोड्ने कर्णाली राजमार्गमा अभाव, गरिबी, भोक, रोग, र शोकका तमाम दृश्यहरुपनि भेटिन्छन् ।
कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सिंजा गापा वडा नम्बर २ मा रहेको कालिका आधारभुत विद्यालयका विद्यार्थीहरुले कष्टकर शिक्षा लिईरहेका छन् । १ जना दरबन्दी र एकजना राहत शिक्षकको भरमा रहेको उक्त स्कुलमा कक्षा पाँचसम्मको पढाई हुन्छ ।
रारा जाने कर्णाली राजमार्गको दाहिने किनारामा पर्ने उक्त स्कुलमा पढ्ने विद्यार्थीहरु कक्षामा बस्दाको दृश्यले कसको मन दुखाउँदैन, कसको ओठले बिचरा भन्दैन होला ? सामाजिक सञ्जालको कमाल भन्नुपर्छ ।
दानसिंह खत्रीको अनुमतिमा लोकेन क्षेत्रीले आफ्नो फेशबुकमा कालिका आधारभुत विद्यालयका यी तस्बिरहरु सार्वजनिक गरेपछि हामीले उक्त स्कुलको बारेमा जिज्ञासा राख्दै तपाई प्रअ रहेको स्कुलको परिस्थिति त दयनीय रहेछ नि ? भनेर प्रधानाध्यापक गणेश सिमखाडेलाई सोधेका थियौं ।
उनले भने,‘तपाईले भनेको कुरा सहि हो, यस विद्यालयको भौतिक संरचना कम्जोर छ, रारा जाने रोडबाट खसेको पानि कक्षा कोठा भएर बग्छ, अघिल्लो आर्थिक वर्षमा दुर्गम विकास कोषबाट निमार्ण गरिएको दुईकोठे भवन भत्किएको छ, विद्यार्थीहरुको अवस्था दखित छ ।’
विद्यालय व्यवस्थापन समितिले छैन भनेर सोधिएको अर्को प्रश्नको उत्तरमा उनले भने,‘छ तर यस विद्यालयको हितमा काम गर्न नसक्ने खालको छ, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अम्मर खत्री सुर्खेत, नेपालगंज कतातिर हुनुहुन्छ, उहाँलाई मैले विद्यालयको बारेमा भने तर कुनै वास्ता गर्नु भएन, अर्को समिति गठन गर्न पनि बाटो खुलाउनु भएको छैन, स्कुलको स्थिति दयनिय छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्षका बालबालिका उक्त स्कुलमा पढ्छन् कि के गर्छन् भनेर सोधिएको तेस्रो प्रश्नको जवाफमा उनले भने,‘उहाँले सूरुमा भर्ना गर्नुभयो, पछि पोखरातिर सिप्ट गर्नुभयो, ७ जनाको समितिमध्ये एकजनालेमात्रै एउटी छोरीलाई भर्ना गराउनुभएको छ, मेरा दुईवटा छोरा यसै स्कुलमा पढेका हुन, सरकारी स्कुलको स्तरोन्नतीको लागि काम गरौं भन्नेमा म हुन्छु तर साथ पाईदैन, सरकारले विद्यालयबारेमा तत्काल हेरोस् भन्न चाहन्छु ।’
प्रअका कुरा सुनेपछि हामीले गाउँपालिका वडा अध्यक्षसँग विद्यालयका बारेमा जान्न खोज्दा वडा नम्बर २ का अध्यक्ष नविन्द्रराज शर्माले विद्यालयको दयनीय अवस्थाबारेमा जानकार भएपनि तत्काल समाधान आफूसँग नभएको स्पष्ट पारे ।
उनले भने,‘म जनप्रतिनिधि हुँ । यस अर्थमा वडामा रहेका विद्यालयकाबारेमा चिन्ता र चासो छ, तर तत्काल समाधान छैन्, विद्यार्थीहरुलाई शिक्षा लिन असहजता सिर्जना भएको छ, अर्को आर्थिक वर्षमा बिष्टवाडामा रहेको कालिका आधारभुत विद्यालयको पक्की भवन बनाउनेगरि पहल थालेको छु ।’
शिक्षाजस्तो सम्वेदनशील तथा आधारभुत विषयलाई सरकार र सम्बन्धित पक्षले यस्ता दयनीय र दुःखलाग्दा दृश्यहरुको बारेमा गम्भिर भएर सोच्नुपर्छ । भविष्यका सम्पतिहरु न आफ्नो न पराय । आजका बालक भोलिका कर्णाधार ।