Logo

कृषकलाई औषधि ट्याङ्की



दाङ । तुलसीपुर उपमहानगरपालिका–१ ले कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बालीमा औषधि हाल्ने ट्याङ्की वितरण गरेको छ । कृषकको बाली सुधार गर्न र उत्पादन बढाउनका लागि वडामा रहेका २१ टोल विकास संस्थालाईे ट्याङ्की वितरण गरिएको होे ।

वडाध्यक्ष लक्ष्मण भण्डारीले वडामा व्यावसायिक कृषि प्रणालीको विकासका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने बताउनुभयो । ट्याङ्की पाएपछि उत्साहित किसानलाई व्यावसायिक खेतीमा अगाडि बढ्न हौसला मिलेको छ । कृषक देवी अर्यालले किसानलाई सरकारले थप सहयोग गर्नुपर्ने बताउँदै ट्याङ्की पाएर आफूहरू निकै खुशी भएको बताउनुभयो ।

उक्त उपमहानगरपालिकाले वडामा रहेका २१ वटै टोल विकास संस्थाका प्रतिनिधिलाई टोल विकास संस्थाको गठन, परिचालन, काम कर्तव्य र अधिकारका बारेमा तालीम पनि दिएको थियो ।

बेपत्ताको स्थिति सार्वजनिक गर्न माग

बेपत्ता परिवारका सदस्यले आफ्ना सदस्यको स्थिति सार्वजनिक गर्न राज्यसँग माग गरेका छन् । तत्कालीन माओवादी सशस्त्र जनयुद्धका बेला बेपत्ता भएकाको परिवारले अझै उचित न्याय नपाएको गुनासो गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा राज्यबाट बेपत्ता पारिएका परिवारका सदस्य उपेन्द्रबहादुर डाँगीले बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै खुमबहादुर डाँगीले बेपत्ता भएकालाई कि मृत्यु भएको घोषणा गरिदिन कि त जिउँदो मान्छे छ भनी देखाइ दिनुपर्ने बताउनुभयो । अधिकांश राज्यबाट बेपत्ता पारिएका परिवारका सदस्यको सहभागिता रहेको उक्त कार्यक्रमका सहभागीहरूले बेपत्ता पारिएका, शहीद र द्वन्द्वपीडितमाथि सरकारले अझै पनि न्याय दिन नसकेको गुनासो गरेका थिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता टीकाराम खड्काले बेपत्ता आयोग र सत्य निरुपण आयोगले कामभन्दा पनि आफ्नो म्याद बढाउने काम मात्र गरेको भन्दै राज्यबाट अब तत्काल पीडित परिवारलाई पुनःस्थापनाका प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने सुझाब दिनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सदस्य देवा डाँगीले राज्य र विद्रोही दुवै पक्षबाट पीडित परिवारलाई राहत, पुनःस्थापन र न्यायका लागि दवाव दिनुपर्नेमा बताउनुभयो ।

जनयुद्धका बेला दाङमा राज्य र विद्रोही पक्षबाट ६०२ को हत्या भएको थियो । यस्तै ११३ बेपत्ता, २९० अपहरण, ३०७ घाइते अपाङ्ग, ८१४ को सम्पत्ति क्षति, ५४५ विस्थापित र पाँचजनाले आफ्ना बाबुआमा गुमाएका शान्ति समिति कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्