Logo

प्रधानमन्त्रीज्यू, जनताको माग वेवास्ता गरेर विकास हुन सक्दैन : महन्थ ठाकुर



-महन्थ ठाकुर, संयोजक, अध्यक्षमण्डल, राजपा

आगामी दिनमा नेपाल–भारत सम्बन्ध कस्तो होला ?
नेपाल र भारतबीचको सम्बन्ध सधैँ नै प्रगाढ रहँदै आएको छ । मनभित्र कसको के कुरा हुन्छ, भन्न सकिदैन । तर दुवैतिरबाट मधुर सम्बन्धको कुरा गरिएको छ । कुरा र चर्चा भएअनुसारको सम्बन्ध रहिरहोस् ।

नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुरा मिलेको हो ?
अब जनसम्बन्ध प्रगाढ हुँदै जान्छ । ओली र मोदीबीचको सम्बन्धमा कुनै शंका छ भने त्यो हटाउनुपर्छ । दुवै प्रधानमन्त्रीबीच मन मिलेको सन्देश दिइएको छ ।

अब नेपालमा विकास र समृद्धिको बाटो कसरी अगाडि बढ्ला ?
सरकारले चाहने हो भने हुन्छ । सम्भावना छ । तर पहिला देशमा भएका अरु समस्या समाधान गर्नुपर्छ ।

केके समस्या समाधान गर्नुपर्ने देख्नुहुन्छ ?
मधेशमा थुप्रै समस्या छन् । प्रजातन्त्र छ, तर राजनीतिक कार्यकर्ता र नेताहरुलाई जेलमा राखिएको छ । मन्त्रीहरुमाथि मुद्दा लगाइएको छ । चुनाव जित्नेलाई सांसदलाई प्रमाणपत्र दिइएको छैन । संविधान संशोधन हुन बाँकी नै छ । समस्या धेरै छ, तर सरकारले समाधान गरेको छैन ।

तर तपाईहरुकै समर्थनमा सरकार चलिरहेको छ । किन समाधान हुन सकेन ?
प्रधानमन्त्री केपी ओली आफै राजनीतिक मुद्दाका लागि लड्दा पटकपटक जेल बस्नुभएको थियो । आफ्नो अनुभवका आधारमा पनि हाम्रो माग पूरा हुन्छ कि भन्ने अपेक्षा गरेर सरकारलाई समर्थन गरेका हौँ । आफू १४ वर्ष जेल बसेको व्यक्तिले अरु जेल बस्न पर्नुको कारण पनि बुझ्नुपर्यो नि ।

प्रधानमन्त्रीसँग माग सम्बोधन गर्ने विषयमा कुरा भएको छैन ?
हामीले माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र नै बुझाइसकेका छौँ । माग पूरा होस् भनेर नै समर्थन गरिएको हो । अब अरु के गर्ने ?

माग पूरा हुन्छ कि भनेर कहिलेसम्म कुर्नुहुन्छ ?
कहिलेसम्म कुर्ने भन्ने कुरा प्रधानमन्त्रीमा भर पर्छ । जनताको मागलाई वेवास्ता गर्ने हो भने सम्बन्ध पनि सुधार हुन सक्दैन । अहिले पनि देशका ५१ प्रतिशत जनताको माग पूरा भएको छैन । यस्तो अवस्थामा विकास र समृद्धि कसरी सम्भव हुन्छ ?

प्रधानमन्त्रीले विकास र समृद्धिको कुरा गरिरहनुभएको छ । तपाईहरु किन राजनीतिक मुद्दामा अल्झिरहनुहुन्छ ?
जनताको माग वेवास्ता गरेर विकास हुन सक्दैन । अर्कोतिर प्रदेश सरकारलाई अधिकार पनि दिइएको छैन, पैसा आफ्नो खल्तमा राख्ने अनि अरुले कसरी खर्च गर्न सक्छ ? कानुन र अधिकार पनि प्रदान गरिएको छैन ।

(प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग गरिएको कुराकानी)



प्रतिक्रिया दिनुहोस्