काठमाडौं २३ भदौ ।
‘घरमा कोही बिरामी छन् कि ?’ कसैले एकाबिहानै ढोका ढकढक्याएर यस्तो सोध्दा अनौठो लाग्न सक्छ । तर भक्तपुर नगरवासीका लागि सामान्य भइसक्यो ।
गत असार २० को बिहान जगातीका हरिकृष्ण शिल्पकार माथिल्लो तलामा चिया खाँदै थिए। तल घण्टी बज्यो। कान्छी छोरी रिनाले झ्यालबाट नियालिन्। तल थिए– स्टाफ नर्स सरिता गोसाईं र स्वास्थ्य स्वयंसेविका रत्नमाया खायमली। उनीहरुले सोधे– ‘तपाईंको घरमा कोही बिरामी छन् कि?’ भक्तपुर नगरपालिकाबाट सञ्चालित घरदैलो नर्सिङ सेवामा खटिएका थिए उनीहरु।
रिना सुरुमा छक्क परिन्। कुरा बुझेपछि बुबा हरिकृष्ण, आमा रामलक्ष्मी, दाइहरू राकेश र राजेश तथा बहिनी सुप्रभाको उमेर, पेसा र शिक्षाबारे जानकारी गराइन्। यतिन्जेलमा हरिकृष्ण दम्पती पनि तल ओर्लिए। नर्स गोसाईंले पहिले रामलक्ष्मीलाई भर्याङको खुडकलो बसाइन्। अनि उनको रक्तचाप जाँचिन्। उपकरणले माथि १४० र तल ८० देखियो, जुन अलि उच्च हो। ‘तपाईंले नुन र चिल्लो कम खानुपर्छ,’ गोसाईंले सुझाइन्। त्यसपछि हरिकृष्णको रक्तचाप जाँचिन्। उनको सामान्य रहेछ।
अहिले नगरपालिकाका १० वटै वडामा घरदैलो नर्सिङ सेवा सञ्चालनमा छ। बिहान ७ देखि ९ बजेसम्म घरघरै पुगेर नर्स र स्वास्थ्य स्वयंसेविकाले नगरवासीको स्वास्थ्य जाँच गर्छन्। टोलीले मधुमेह, स्त्रीरोग, बालरोग, दम र खोकीका बिरामीलाई पनि निगरानी गर्छ।
उपचार नगराई घरमै बसेकालाई नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवाकेन्द्रमा पठाइन्छ। रक्तचाप र मधुमेहका बिरामीलाई नियमित औषधि खान र बढी नै च्यापेकालाई अस्पताल जान सुझाइन्छ। टोलीले सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबारे पनि नगरबासीलाई जानकारी दिन्छ। सरकारले भक्तपुरसहित ४२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
नर्स र स्वयंसेविकाले नगरका बिरामीको तथ्यांक पनि संकलन गरिरहेका हुन्छन्। गत जेठसम्म १ हजार ६ सय ६३ परिवारको स्वास्थ्य परीक्षण गर्दा ४ सय ३५ जनालाई उच्च रक्तचाप, १ सय ७७ लाई मधुमेह, ८० जनालाई दम, ८० जनालाई हाडजोर्नी समस्या, ४१ जनालाई ग्यास्ट्रिक, १३ जनालाई थाइराइड, ३१ जनालाई मुटुरोग र ९ जनालाई क्षयरोग पाइएको छ। त्यस्तै सुस्त मनस्थितिका ३, प्यारालाइसिस भएका ७, मिर्गौला रोगका ५, पत्थरी भएका ४, कोलेस्ट्रोलका १४, क्यान्सरका ७ बिरामी र अशक्त–अपाङ्गता भएका १ जना रहेको नगरपालिकाको अभिलेख छ। टोली वडाका सबै घरमा एक चरण पुगेपछि दोहोर्याउँछ।
वडैपिच्छे फरकफरक टोली छ। नर्सहरू दैनिक कम्तीमा २० घर पुग्छन्। संकलित तथ्यांक लिएर उनीहरू बिहान साढे ९ बजे नगरका तीनवटा जनस्वास्थ्य सेवाकेन्द्रमा हाजिर हुन्छन्। तथ्यांक अद्यावधिक गर्छन्।
जनस्वास्थ्य सेवा केन्द्रहरूमा बिरामीको भीड लागिसकेको हुन्छ। च्यामासिंह, पाँचतल्ले मन्दिर भगवतीस्थान र ब्यासी गरी तीन ठाउँमा यस्ता केन्द्र छन्। च्यामासिंहमा ५० रुपैयाँको टिकट काटेर विशेषज्ञ चिकित्सासेवा पाइन्छ। दोहोर्याएर जाँदा ३० रुपैयाँ तिरे पुग्छ। त्यहाँ बालरोग, स्त्रीरोग, हाडजोर्नी, दाँत, नाक, कान र घाँटी, छालासम्बन्धी उपचार उपलब्ध रहेको केन्द्रप्रमुख डा. रत्नसुन्दर लासिवाले बताए।
च्यामासिंहमा छिमेकी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका बासिन्दा पनि उपचार गराउन आउँछन्। यहाँ दैनिक ३ सय हाराहारीमा बिरामीको उपचार हुन्छ। यो केन्द्रमा नियमित स्वास्थ्य जाँच गराउनेमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि छन्। बिजुक्छे असार १९ गते बिहान ९ बजेतिर केन्द्रमा आइपुगे। आधा घण्टाजति कुरेपछि उनको पालो आयो। केन्द्रको १ सय १ नम्बर कोठामा गई घुँडाको फिजियोथेरापी गराए। घुँडाको हड्डी खिइएकाले उनी एक वर्षदेखि केन्द्र धाइरहेका छन्। ‘विशेषज्ञ सेवा नगरमै पाएपछि बाहिर किन जानुपर्यो?,’ उनले भने।
भक्तपुर नगरपालिका र आसपासका बासिन्दालक्षित यी स्वास्थ्य केन्द्रमा ९ जना विशेषज्ञ डाक्टर र १४ जना मेडिकल अधिकृत छन्। नर्स र अन्य कर्मचारी ६१ जना। ‘भक्तपुर नगरवासीको औसत आयु कम देखिएको र औषधोपचार सर्वसुलभ नभएकाले जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको हो,’ नगरप्रमुख सुनील प्रजापतिले भने। कान्तिपुरबाट