कञ्चनपुर । निर्मला हत्याकाण्डको छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीको राजिनामा र फेरि काममा फर्केको घटना रहस्यपूर्ण देखिएको छ । केसीले आफूलाई भौतिक खतरा रहेको र निर्मलाले न्याय पाउने नदेखिएको भन्दै सोमबार राजिनामा दिएका थिए । तर बुधबार उनी आफूमाथिको खतरा पन्छिएको भन्दै काममा फर्केका थिए ।
उनले बुधबार आफ्नो जीवन नै खतरामा रहेको जुन कथा सुनाए त्यसले उनको नियतमाथि शंका उत्पन्न गराइदिएको छ । केसीले सोमबारदेखि मंगलबारसम्म मञ्चन गरेको नाटकले उच्चस्तरीय समितिकै विश्वसनियतामा प्रश्न पनि लगाइदिएको छ ।
सोमबार निर्मला हत्याकाण्डको घटनाक्रममा अनौठो मोड आयो । घटनाको छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका एक सदस्यले राजिनामा गरेपछि सिंगो देशमैं हलचल भयो । समितिका कनिष्ठ सदस्य तथा प्रदेश–७ को आन्तरिक मामिला मन्त्रालयका उपसचिव विरेन्द्र केसीले ‘निर्मलाले न्याय पाउने नदेखिएपछि’ आफूले समितिमा बस्नुपर्ने औचित्य नरहेको भन्दै राजिनामा दिए । उनले आफ्नो जीवन नै खतरामा रहेको दावी पनि गरे ।
केसीको राजिनामापछि उनलाई सामाजिक सञ्जाल र मिडियाले हिरो बनाए । राज्य नै बलात्कारी हत्याराको पक्षमा लागेको सर्वत्र अनुभूति भइरहेका बेला केसीले साहस र इमान्दारी प्रदर्शन गरेको भन्दे प्रशंसा भयो । महेन्द्रनगर त उनको सो कदमप्रति नतमस्तक नै देखियो ।
तर, बुधबार बिहान भने खबर आयो – केसी फेरि समितिको काममा फर्के । धेरैले सोचे सरकार केसीको राजिनामाबाट तस्र्यो र वास्तविक हत्यारा नलुकाउने केसीको अडानका अगाडि झुक्यो । तर, साँझ नपर्दै वास्तविकता खुल्यो । केसीले कुनै अदृश्य स्वार्थका लागि राजिनामा र फेरि काममा फर्केको नाटक मञ्चन गरेको आशंका क्रमशः बढ्न थाल्यो । केही घण्टा हिरो बनेका केसी जिरो हुने क्रम सुरु भयो ।
केसी जिरो हुँदै जानुको कारण अरु केही नभएर उनले आफ्नो जीवन खतरामा पर्नु बारे बताएको तर्क हो । बुधबार नागरिक दैनिकले अनुसन्धानमा संलग्न प्रहरी र केसीमाथि अनुसन्धान सुरु गरेको समाचार छाप्यो । बिहान उनलाई गृहमन्त्रालय झिकाइयो र उनले गृहमन्त्री समेतलाई भेटे । त्यसपछि उनले फेरि समितिमा बस्ने भन्दै विज्ञप्ति नै जारी गरे ।
विज्ञप्ति जारी गरेपछि उनले केही असमझदारीका कारण आफूले राजीनामा दिएको र ती असमझदारी हटेकाले आफू काममा फर्केको उनले बताएका थिए । घटनाका दोषीलाई कारवाही गर्नुपर्ने आफ्नो धारणामा गृहमन्त्री रामबहादुर थापाको समेत साथ पाएको भन्दै उनले आफूले काममा फर्केको बताएका थिए ।
उनले रासससँग भनेका थिए, ‘आज बिहान गृहमन्त्रीज्यू र गृहसचिवज्यूलगायत विशिष्ट व्यक्तिसँग मेरो झण्डै एक–दुई घण्टा छलफल भयो । सो छलफलमा गृहमन्त्रीज्यू र मेरो धारण एउटै रह्यो । तर बीचमा कम्युनिकेसन ग्याप भएका कारण बुझाइमा फरक भएको रहेछ । त्यसपछि म समितिमा फर्किन तयार भएँ ।’
तर, उनी त्यतिबेला चिप्लिए जतिबेला उनले राससलाई आफ्नो जीवन खतरामा पर्नुको यस्तो कारण बताए – समितिका अन्य सदस्यलाई नलगेर भदौ १५ गते एक्लै निर्मलाको साइकल भेटिएको स्थानमा छानबिन गर्न गएको बेला एक व्यक्ति आएर मलाई धम्की दियो ।
घटनास्थल हेरिरहेको थिएँ एकजना मोटो मान्छे आएर मलाई सर तपाईंको काम चाहिँ राम्रो छ तर यहाँ योभन्दा अगाडि यस्ता घटनामा ट्रकको ब्रेक फेल भयो भन्दै मान्छे किचेर मार्दिने गरेका छन् । तपाईं पनि एक्लै हुनुहुन्छ अलि ख्याल गर्नुस् है भनेर धम्कि दिए ।’
अचम्म त के भने उनी २२ भदौसम्म महेन्द्रनगरमैं थिए । त्यसबीच उनले यो कुरा कसैलाई भनेका थिएनन् । काठमाडौं पुगेपछि उनलाई जीवन खतरामा परेको आभास कसरी भयो भन्ने प्रश्न उठेको छ ।
हत्यारा पक्षले ठूलै चलखेल गरिरहेको पृष्ठभूमिमा केसीको राजिनामा, काममा फिर्ता र ज्यानको खतरा भन्दै उनले पस्केको कथा रहस्यमयी बनेको छ । केसीले अबका दिनमा सत्यको बाटो हिंड्न सक्ने सम्भावना पनि कम भएर गएको आकलन गरिएको छ ।
उनले त्यही मोटोे मान्छेको धम्कीपूर्ण भाषाबाट डराएर आफूले राजिनामा गरेको राससको समाचारको आशय छ । गृहमन्त्रीसँगको भेटमा आफ्नो सुरक्षाको ग्यारेन्टी पाएपछि आफू काममा फर्केको उनले बताएको राससको समाचारमा उल्लेख छ ।
केसीको नाटक अर्थपूर्ण
काठमाडौं पुगेपछि केसीले राजिनामा र फिर्ताको नाटक गर्दा आफूलाई आएको धम्कीबारे जेजस्तो बताए पनि उनको नियतमा शंका गर्न सकिने प्रशस्त ठाउँ पाइएको छ । महेन्द्रनगरमा उनले नागरिक समाज, आन्दोलनकारी र पत्रकारहरुसँग अपराधी लुकाउने प्रयत्न भए बिद्रोह गर्ने बताएका थिए । मानसखण्डसँग पनि उनले त्यस्तो बताएका थिए ।
काठमाडौं फर्केपछि केसीले आइतबार महेन्द्रनगरका एक पत्रकारलाई फोन गरेर निर्मलाले न्याय नपाउने अवस्था आएकोले आफूले बिद्रोह गर्न लागेको बताएका थिए । पत्रकार सम्मेलन गरी सबै षड्यन्त्र भण्डाफोड गर्ने भन्दै उनले ती पत्रकारलाई काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिदिन आग्रह गरेका थिए । केसीको आग्रहपछि ती पत्रकारले रिपोर्टर्स क्लबलाई अनुरोध गरेर काठमाडौंका पत्रकारहरुलाई सम्मेलनमा उपस्थित हुने वातावरण बनाइदिएका थिए ।
केसीले महेन्द्रनगरका ती पत्रकारसँग आफूलाई धम्की आएको बताएका थिएनन्। उनले निर्मला हत्याकाण्डमा उच्चस्तरीय छानविन समिति नै हत्यारा लुकाउन लागेको र त्यसविरुद्ध आफू उभिने बताएका थिए । उनले नागरिक समाजका अन्य व्यक्तिसँग पनि त्यस्तो बताएका थिए । उनले आफू जागिर गुमाएर पनि निर्मलाको न्यायका लागि लड्ने बताएका थिए ।
तर, बुधबार मोटो मान्छेको धम्कीका कारण उनको जीवन नै खतरामा परेको र गृहमन्त्रीले उनलाई सुरक्षा दिने वचन दिएपछि आफू समितिको काममा फर्केको बताए । काममा फर्कनुको उनको यो कारण पनि आश्चर्यजनक छ । एक सामान्य व्यक्तिले दिएको अप्रत्यक्ष धम्कीका कारण उनले राजिनामा दिए र गृहमन्त्रीको आश्वासनपछि उनी काममा फर्किए भन्ने तर्क अविश्वसनीय छ ।
केसीले गरेको नाटकले उच्चस्तरीय छानविन समितिको विश्वसनीयतामा थप प्रश्नचिन्ह लगाएको छ । उनले रिपोर्टर्स क्लबको पत्रकार सम्मेलनमा पनि अस्पष्ट कुरा गरेका थिए । केसीको यो नाटकले समितिकै विश्वसनीयता प्रशनले घेरिन पुगेको छ ।
साभारःमानसखण्ड