चितवन, २९ भदौ/ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मित्रराष्ट्रसँगको आपसी सम्बन्ध धेरै राम्रो बन्दै गएको बताउनुभएको छ ।
पत्रकारसँग कुराकानी गर्दै उहाँले नयाँ सरकार गठन भएपछि नेपालमा भएका अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय वार्ता एवं नेपालबाट भएका महत्वपूर्ण भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत गरेको बताउनुभयो ।
नेपालले छोटो समयमा पूर्वाधार अभाव हुँदासमेत भव्यताका साथ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सम्पन्न गरेको भन्दै उहाँले यसबाट गर्व गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ बिम्स्टेकलाई आकार दिने क्षेत्रीय आर्थिक र प्राविधिक सहयोगको प्रभावकारी संयन्त्रका रुपमा प्रयोग गर्ने दृष्टिले राम्रो काम ग¥याँै ।”
नेपाल र थाइल्याण्डले भारतमा भएको सुरक्षा गोष्ठीमा पर्यवेक्षकका रुपमा सहभागिता जनाएको भन्दै उहाँले बिम्स्टेकलाई सुरक्षामा भन्दा पनि आर्थिक मुद्दामा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
सरकारले जिम्मेवारी सम्हालेको ६ महिना कटेको भन्दै उहाँले यस बीचमा सङ्घीयतालाई आकार दिने काम अघि बढेको बताउनुभयो । निर्मला हत्याकाण्डमा आरोपीलाई संरक्षण ग¥यो भन्नु पूर्वाग्रही टिप्पणी रहेको भन्दै उहाँले दोषी उम्किन नपाउने बताउनुभयो । (रासस)