काठमाडौं । आजभन्दा करिब दुइमहिना ‘५२ दिन’ पहिले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका बाआमाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरेका छन् ।
हिजो मात्रै प्रधानमन्त्रीले निर्मलाका बाआमालाई भेट्न समय नदिएको भनेर समाचारहरु आएका थिए । निमर्लाका बाआमालाई प्रधानमन्त्रीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपरधीले उन्मुक्ति नपाउने आश्वासन दिएका छन् ।
सोमबार बिहान बालुवाटार पुगेका निर्मालाका आमाबुवा र कञ्चनपुरका सांसद, अधिकारकर्मीसँग ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा कानूनको कठघरामा उभ्याउने जानकारी दिए ।
प्रधानमन्त्री ओलीसँग निर्मलाका आमाबुवाले भावुक हुँदै आफ्नी छोरीको हत्यारा पत्ता लगाउन गम्भीर हुन आग्रह गरेका थिए । ‘यो हरेक नेपाली चेलीको समस्या भएको र ‘यसको जडसम्म पुगेर कारवाही हुनुपर्ने निर्मलाकी आमाले बताइनन् ।
उत्तरमा प्रधामन्त्री ओलीले अब कुनै पनि हालतमा अपराधीले उन्मुक्ति नपाउने भन्दै प्रधानमन्त्रीले भने, ‘अपराधी जसरी पनि पत्ता लाग्छन्, अब तपाईहरू घर जानुस्, हामी अपराधीलाई पक्राउ गर्छौं ।’
प्रधानमन्त्री ओलीले अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानको प्रक्रियामा ढिलोचाडो हुने बताएका छन । आफूले गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको भन्दै प्रधानमन्त्रीले अपराधी पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताएका छन ।
तस्विर : मुकुन्द कालिकोटे