Logo

संविधान दिवसका दिन उपेन्द्र यादव मौन ब्रत बस्ने



काठमाडौं, १ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले असोज ३ गते संविधान दिवसमा कालो दिवस नमनाउने भएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव यतिवेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री छन् । वर्तमान सरकारको साझेदारी दल भएकोले उनले यस पटक संविधान दिवसको दिन कालो दिवस नमनाउने भएका हुन् ।

उक्त दिवसको दिन यादवले विरोध र दिवस पनि नमनाउने बरु मौन बस्ने तयारी गरेका छन् । संविधानको पक्षमा बोल्दा फोरमप्रति जनताको विश्वास घट्ने उनको ठम्याई छ । त्यस्तै, विपक्षमा बोल्दापनि उनीमाथि सरकारमा बस्ने अनि संविधानकै खिल्ली उडायो भन्ने आरोप लाग्ने खतरा भएकोले यादव यस पटक मौन बस्ने स्रोतको दाबी छ ।

स्रोतका अनुसार यादव भोली गृहजिल्ला सप्तरी जाने कार्यक्रम छ । सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको फोरमले आज एक विज्ञप्ती जारी गर्दै स्पष्ट पारेको छ ।

सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो ।

पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

“संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको छ,” पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्