Logo

संविधान कार्यान्वयनका लागि संसद र सरकार इमानदार हुनुपर्छ : कृष्णप्रसाद सिटौला



असोज ३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले ३ वर्ष अघि जारी भएको संविधान कार्यान्वयलाई सहज बनाउनका लागि सरकार र संसदले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सिटौलाले संविधान संशोधनका विषयमा पनि सहमति खोज्नुपर्ने बताए ।

संविधान निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरेका सिटौलाले संविधान कार्यान्वयनमा ठूलो जटिलता नभएकाले इमानदार प्रयास गर्ने हो भने समस्या समाधान हुने बताए ।

“तिनै तहको सरकारले संविधानअनुसार जनतालाई आर्थिक प्रगति दिन सक्नुपर्छ । जनताको पक्षमा काम गर्नुपर्छ । लोकतान्त्रिक समाजवादमा प्रतिवद्ध रहेर गरिब र विपन्न जनतालाई अगाडिद बढाउनका लागि सरकारले कार्यक्रम ल्याउनुपर्छ ।” उनले भने ।

तर दुई तिहाई बहुमतको सरकार गठन भएको ७ महिनासम्म उत्साहजनक काम हुन नसकेको सिटौलाको आरोप छ ।

मधेश केन्द्रित दलले संविधान संशोधनको माग गरेको सन्दर्भमा उनले छलफलमार्फत प्रक्रिया अगाडि बढाउन सुझाब दिए । संविधानअनुसारको निर्वाचनमा सबै पक्षले भाग लिएको स्मरण गराउँदै सिटौलाले संघीय समाजवादी फोरम र राजपाले प्रदेश २ मा सरकार संचालनसमेत गरेकाले धेरै समस्या नभएको बताए ।

“संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागि छ । राजपाले पनि प्रदेश २ को सरकारमा छ । संविधान कार्यान्वयनका दृश्टीले यो उपलब्धि हो । संविधान सच्याउनुपर्ने ठाउँमा त सबै खुला हुनुपर्छ ।” सिटौलाले भने ।



प्रतिक्रिया दिनुहोस्