मेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायतले लोकतन्त्र बलियो भएमात्र मुलुकको आर्थिक विकास र समृद्धि हासिल हुने भन्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
संयन्त्रका अध्यक्ष दिनानाथ शर्माले राजनीतिक दलबीच लोकतन्त्र सुदृढ बनाउन मेलाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
‘‘आन्दोलनमार्फत लोकतन्त्र ल्याउन सबै दल एकजुट भएजस्तै मेलामार्फत लोकतन्त्रलाई बलियो बनाउन एकजुट भएका छौँ’’ उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रबारे फरक फरक ठाउँमा बहस गरे पनि एउटै ठाउँमा जनतालाई पनि दलले लोकतन्त्रप्रति प्रतिबद्ध भएको देखाएका छन् ।’’
मेलालाई निरन्तरता दिँदै अझ परिष्कृत बनाउनुपर्नेमा उहाँको जोड दिनुभयो । मेलामा तीनैदिन लोकतन्त्रसम्बन्धी बहस भएको थियो ।
मेला अवधिभर वसन्तपुरको नासलचोकमा संविधान र लोकतन्त्रसम्बन्धी अन्तरक्रिया हुने गर्दथ्यो भने वसन्तपुरको मञ्चमा युवा विद्यार्थी र गैरसरकारी संस्थालाई लोकतन्त्रसम्बन्धी खुला छलफल कार्यक्रम हुने गरेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नेपाली काङ्ग्रेसका मिनेन्द्र रिजाल, राजपाका नेता अनिल झा सहभागी भएर लोकतन्त्रलाई सुदृढ गराउनका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको थियो ।
दलले लोकतन्त्रबारे विभिन्न जानकारीमूलक पुस्तक, आफ्नो दलबारे जानकारी, संविधानका मूलभूत कुरा र लोकतन्त्रसम्बन्धी बहसमार्फत सर्वसाधारणलाई लोकतन्त्र सिकाइएको थियो ।
दक्षिण एशियामा नै पहिलो पटक नेपालमा भएको यस प्रकारको मेलामा दलले एउटै मञ्चबाट सर्वसाधारणले चासोका साथ लोकतन्त्रबारे बहस गरेका थिए । यसभन्दा अगाडि डेनमार्कमा पहिलो पटक ‘लोकतन्त्र मेला’ भएको थियो ।
‘‘अहिले २१ औँ शताब्दिमा लोकतन्त्रबारे विभिन्न टिकाटिप्पणी हुन थालेका छन्’’ नेकपाका नेतासमेत रहेका शर्माले भन्नुभयो, ‘‘विश्वमा उठेका बसहमा मेलामार्फत नेपालले सहभागिता हुन पाएको छ ।’’
मेलामा डेनमार्क, बेलायत, केन्या, पाकिस्तान, भारतबाट आएका राजनीतिक दलका प्रतिनिधिले पनि आफ्नो देशमा भएको लोकतन्त्रको अभ्यासबारे अनुभव सुनाउनुका साथै नेपालको लोकतन्त्रको अभ्यासबारे जानकारी लिएका थिए ।
राजनीतिक दलले छलफल, संवाद र प्रर्दशनी गरेर एकै थलोबाट लोकतन्त्रलाई अझ बढी लोकतान्त्रिक कसरी बनाउने, लोकतान्त्रिक संस्कारलाई अझ बढी परिष्कृत कसरी गर्ने भन्ने अभिप्रायका साथ मेलाको आयोजना गरिएको बताइएको छ ।
मेलामा स्थानीय झाँकीहरु, चित्रकला प्रर्दशनी, स्थानीय हस्तकला प्रर्दशनीका करीव १० प्रदर्शनी कक्षसमेत राखिएको थियो । मेलामा राजनीतिक दलका नेता, नागरिक समाज, गैरसरकारी संस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता थियो । (रासस)