असोज ७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली हिजो अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका गएका छन् । ओलीको अमेरिका यात्रालाई लिएर विभिन्न दलका नेताहरुले प्रश्न उठाएका छन् ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले नेपालका कर्मचारीदेखि प्रधानमन्त्रीसम्म विदेश भ्रमण भनेपछि हुरुक्कै हुने गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले प्रधानमन्त्री ओलीले आफू नगएर अरुलाई वा परराष्ट्रमन्त्री पठाएको भए राम्रो हुने बताए ।
नेपालका नेतादेखि कर्मचारी सबै मौका पाउनासाथ विदेश भ्रमणमा जाने र मोजबस्ती गर्ने प्रवृत्ति बढेको लोहोनीको तर्क छ । तर ओलीको भ्रमणबारे औपचारिक रुपमा जनतालाई पनि जानकारी गराउनुपर्ने उनको धारणा छ ।
“सानो देश, गरिब देश, झण्डै २ हप्ताको विदेश भ्रमण । कोस्टारिकामा पनि जाँने रे । कोस्टारिका जानुको कुनै औचित्य देखेको छैन ।” लोहोनीले भने ।
राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जानेसम्म स्वभाविक नै भए पनि अन्य विभन्न झिना मसिना कार्यक्रममा हुल बाँधेर सहभागि हुनु उचित नभएको लोहोनीले बताए ।