Logo

काठमाडौमा एक खर्ब १६ अर्ब रुपैयाँको रेल सम्भव छ ? कि भाषण मात्रै



असोज ७, काठमाण्डौ । धुलो धुँवा, फोहोर र अस्तव्यस्त ट्राफिक व्यवस्था रहेको काठमाडौमा रेल ल्याएर जनजीवन सहज बनाउने राजनीतिक नारा लागेको धेरै भैसको । अझै स्थानीय तहको चुनाव अगाडी त वर्तमान मेयर विद्यासुन्दर शाक्यले त मुख्य चुनावी नारा नै बनाए । तर अहिले रेल कहिले आउने त कता कता, कस्तो रेल ल्याउने भन्नेमै मतभेद सुरु भएको छ ।

चीनको निर्माण कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी)ले तीन वर्षभित्र मोनोरेल कुदाउन सकिने गरी सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । तर, विज्ञहरुले मोनोरेलभन्दा मेट्रोरेल उपयुक्त हुने तर्क गरेका छन् । काठमाण्डौ महानगरपालिकाले अबको ४ बर्षमा मोनोरेल सञ्चालनमा ल्याउने लक्ष्यका साथ अगाडि बढिरहेको छ । महानगरका अनुसार राजधानीमा मोनोरेल सबैभन्दा उपयुक्त र सरल छ । महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालका अनुसार काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

पूर्वाधार तथा शहरी मामलाका विज्ञहरुले भने काठमाडौं उपत्यकामा भौगोलिक अवस्था अनुसार मोनोरेल उपयुक्त नहुने र खर्चका हिसाबले पनि मोनोरेल महंगो पर्ने बताउँछन् । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य महानगरपालिकाले रेल निर्माण कम्पनीहरुबाट जस्तो प्रस्ताव आयो, त्यसैका भरमा निर्णय गरेको बताउँछन् । महानगरले विज्ञहरुको सुझावलाई बेवास्ता गर्दै अघि बढेको उनको आरोप छ ।

आधारभुत प्राविधिक कुरा नबुझि अगाडि बढ्दा मोनोरेल ‘सेतो हात्ती’मात्र हुने आर्चायको तर्क छ । चक्रपथको हकमा पनि यो अनुपयुक्त प्रविधि भन्दै उनले कार्यान्वयनको निर्णयमा पुग्नुअघि महानरपालिकाले थप अध्ययन गर्न आवश्यक रहेको उनले बताए । मोनोरेलमा क्याबिन धेरै नहुने भएकाले महँगो हुने उनको भनाइ छ ।

विश्वबाटै विस्थापित हुँदै गएको ‘मोनोरेल’ भन्दा ‘मेट्रोरेल’ उपयुक्त हुन्छ भनिरहँदा महानगरपालिकाले पूर्वाधार क्षेत्रका विज्ञहरुसँगको छलफलमा योजना अघि बढाए उपयु क्त देखिन्छ । रेलका लागि काम थाल्नु भन्दा कस्तो ल्याउने भन्नेमै विवाद भइरहे काठमाण्डौबासीको रेल सपना अझै कयौं वर्ष सपनामै सीमित हुनेछ ।



प्रतिक्रिया दिनुहोस्