Logo

फ्रेन्च लिग वान : पिएसजीद्धारा लियोन पराजित



काठमाडौं, २२ असोज । विश्व विजेता फ्रान्सका किलियन एम्बाप्पेले ४ गोल गरेपछि पिएसजीले लियोनलाई सहजै हराएको छ। फ्रेन्च लिग वान अन्तर्गत आइतबार घरेलु मैदानको भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले हराएको हो।

पिएसजीको जितमा नायक भएका एम्बाप्पेले  १३ मिनेटको अन्तरमा ४ गोल गरेका थिए। थप एक गोल नेइमारले गरेका थिए। खेलको ९ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए। एम्बाप्पेलाई पेनाल्टी एरियामा लियोनका गोलकिपरले लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो।

३५ औं मिनेटमा पिएसजीका प्रेस्नेल किम्पेम्बेले सोझो रातो कार्ड पाएर मैदान बाहिरिएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। यस्तै खेलको २६ औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका लियोनका लुकास टुसार्टले ४५ औं मिनेटमा दोस्रो पहेलो कार्ड पाउँदै बाहिरिएपछि लियोन पनि १० खेलाडीमै सिमित भयो।

पहिलो हाफ १-० ले अगाडि रहेको पिएसजीका लागि दोस्रो हाफ एम्बाप्प्मय बन्यो। एम्बाप्पेले दोस्रो हाफको ६१, ६६, ६९ र ७४ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए।

१३ मिनेट भित्रैं चार गोल गरेपछि घरेलु टोली सहज जिततर्फ अगाडि बढेको हो। लिग वान अन्तर्गत ९ खेल खेल्दै शत प्रतिशत जित निकालेको पिएसजी २७ अंकसहित लिगको शीर्षस्थानमा छ। एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्