काठमाडौं, १८मंसिर । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल सरकारबाट बाहिरिने तयारीमा जुटेको छ । सरकारले जनताका भावनाअनुसार काम गर्न नसकेको र एकपछि अर्को गर्दै विवादमा फसिरहेको बेला सत्तारुढ दलले नै सरकारबाट बाहिरिने तयारी थालेको स्रोतको दाबी छ ।
संविधान संशोधन गराउने वचनबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपनि ५ महिना बितिसक्दापनि यसको लागि कुनै प्रक्रिया नै अघि नबढाएकोले फोरम अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव रुष्ट छन् । स्रोतका अनुसार यादवले पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीलाई एक हप्ताको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने र त्यसपछिपनि कुनै प्रक्रिया अघि नबढाए सरकारबाट बाहिरिने रणनीति बनाएका छन् ।
यता, यादवले एशिया प्यासिफिक समिटमा सरकार सहभागी भएर गलत काम गरेको पनि आपत्ति जनाएको बुझिएको छ । उनलाई पनि उक्त समिटमा सहभागी हुन निमन्त्रणा आएको थियो । तर, विवादित समिट भएकोले आफू सहभागी नभएको उनले आफू निकट नेताहरुलाई जनाएका छन् ।
यादव अहिले स्वास्थ्यमन्त्री छन् । त्यस्तै उनकै पार्टीबाट डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री छन् । सहरी विकासमन्त्रीमा फोरमबाट मोहम्मत ईस्तियाक राई छन् ।