काठमाडौं १९ मंसिर । सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्। वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्।
उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ। उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ। साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन्।
जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन। ओढ्न–ओछ्याउन एउटा सिरक छ। जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन्। बसेकै ठाउँमा दिसापिसाब पनि गर्छन्। साङ्लोको डाम गढेर घाउ नै भएको छ। उनी बेला–बेला हतकडी खोलिदिन श्रीमतीलाई आग्रह गर्छन्। खोलिदिऊँझैं लागे पनि अप्रिय घटना हुने डर रहेको सुशीलाले सुनाइन्। सुशीलाले बिहान–बेलुका भात लगिदिन्छन्।
उनले २०५४ सालमा उमाकान्तसँग विवाह गरेकी हुन्। त्यस बेलै उमाकान्तमा मानसिक समस्या देखिइसकेको थियो। आमाबुवाले यसबारे थाहा पाएर माइतमै बस, अर्को विवाह गरिदिउँला पनि भने। तर, उनले उमाकान्तसँगै जोबन बिताउने आँट गरिन्। ‘बुवा बनेर कमाएर ल्याउँछु’, उनले भनिन्, ‘आमा बनेर पकाएर खुवाउँछु।’ उनले मजदुरी गरेर तीन छोरी हुर्काइन्। छोरीहरू घरनजिकैको विद्यालयमा पढ्छन्।
टुरन र पल्टीदेवीका जेठा छोरा हुन् उमाकान्त। बुवा–आमा कान्छा छोरा रमाकान्तलाई लिएर छुट्टै घरमा बसेका छन्। उनी ठीक हुँदासम्म सगोलमै थिए। खेत रुँग्न रातभर बस्ने गरेका उनी बिस्तारै बिरामी पर्दै गएको पल्टीदेवीले सुनाइन्।
परिवारका सदस्यले उपचार गराए, धामीझाँक्री पनि देखाए। तर, अस्पतालबाटै भाग्ने, औषधि नै नखाने भएपछि रोग बल्झिँदै गएको छिमकी सुनाउँछन्। ‘उनी घरखेतका सबै काम गर्थे। गाउँकै बलिया र सुन्दर युवक थिए’, छिमेकी ८० वर्षीया कनीवती चौधरीले भनिन्, ‘निको नभएपछि उमाको पूरै जवानी बन्धनमै बित्यो।’ अन्नपूर्णपोष्टबाट