काठमाडौँ,२५ मंसिर । पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् ।गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् ।बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । बाउबाजेको पालादेखि नै घण्टौँ समय लगाएर पानी बोक्ने समस्या अहिलेसम्म उस्तै रहेको मौलाथरका उदयराम सोती बताउनुुहुन्छ ।
“बिहान उठेपछि सबै काम छाडेर पानी खोज्न जाने हो, पल्लो गाउँमा रहेको कुवा, धारामा पानी लिन जानेको ठूलो भीड हुन्छ, पालो पर्खेर बस्दा बिहान बित्दछ”, सोतीले भन्नुभयो । जनसङ्ख्या धेरै तर पानीको स्रोत कम हँुदा लामो समयसम्म पालो पर्खेर बस्नुपरेको उहाँको भनाइ छ ।
वर्षौदेखि यहाँ खानेपानीको चरम समस्या छ, तर अहिलेसम्म यो समस्या समाधान हुनसकेको छैन । मौलाथर गाउँमा ४२ घरधुरीका करीब ३५० जना बसोबास गर्ने गरेको स्थानीवासी रुमबहादुर रानाले बताउनुभयो । “जनसङ्ख्या बढ्दै गएको छ, खानेपानीका मुहान सुक्दैछन्, खानेपानीका साथै गाईभँैसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाह्रो छ”, उहाँले भन्नुभयो ।
चुनावका बेला गाउँमा पुगेका नेताले खानेपानी ल्याइदिने आश्वासन देखाउँदै जनतासँग भोट माग्ने गर्छन् तर चुनाव जितेपछि गाउँको विकासमा ध्यान नदिएको रानाको गुनासो छ ।
मौलाथरवासीलाई टाढाबाट पानी बोकेर जीविका चलाउन निकै कठिन छ । “समयमा नै छोराछोरीलाई स्कूल पठाउनुपर्ने, घरायसी कामधन्दा पनि सक्नैप¥यो, पानीको सुविधा नहँुदा जीविका चलाउन गाह्रो परेको छ, चुनाव आउँदैपिच्छे राजनीतिक दलका नेता तथा उम्मेदवारले पानी ल्याइदिन्छाँै, भोट देऊ भन्छन् तर चुनाव जितेपछि उनीहरु गाउँ फर्कदैनन्”, स्थानीयवासी ऋषिमाया खन्गाहा भन्नुहुन्छ ।
यहाँका स्थानीयवासीले बस्तीदेखि लगभग दुई किमी पर रहेको रिपादी धारा र माग्दी गैराबाट पानी उपभोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधान भएको खण्डमा यहाँका स्थानीयवासीले तरकारी, अन्नबाली, फलफूल लगाएर आम्दानी पनि गर्न सक्ने प्रशस्त सम्भावना छ ।खानेपानी लिफ्टिङको योजना यो गाउँमा यसै वर्ष परे पनि काम भन्ने शुरु हुन सकेको छैन । रासस