काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ को विमोचन गरिएको छ । उक्त पुस्तक पूर्व-राष्ट्रपति डा.रामवरण यादवले विमोचन गरेका हुन । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेकोे लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा.यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिएका छन् ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा काङ्ग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए । नेता पौडेलले विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए । कांग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेकोमा जोडदिएका छन् । पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो ।
प्रा.डा.लोकराज बरालले राजनीतिमा समाजवादका विभिन्न परिभाषा र नाम भए पनि निमुखा जनताको हितमा गरिने काम नै वास्तविक समाजवाद भएको दाबि गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व-अध्यक्ष धर्मेन्द्र झा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा.विजय पौडेलले पुस्तकका प्रमुख विशेषताकाबारे चर्चा गर्दै समाजवादको स्थापना र उद्देश्यका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।