Logo

‘न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कार्वाही गर्न माग’



काठमाडौं, २७ मंसिर । नेपाल पत्रकार महासंघले पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघले बुधबार संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कानुनी कार्वाही माग माग गरेको हो ।

हासङ्घका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्षद्वय विपुल पोखरेल र दिलिप थापामगर तथा महासचिव रमेश विष्टलगायतको एक टोलीले आज मन्त्री बाँस्कोटालाई भेट गरी पत्रकारको तलब ५० प्रतिशतले वृद्धि गर्नुपर्ने, मिडियामा लगानी पारदर्शी हुनुपर्ने, नेपाली मिडियालाई उद्योगको मान्यता दिँदै सुविधासमेत दिनुपर्ने लगायतका माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

सरकारी स्वामित्वमा रहेको गोरखा पत्र संस्थान र राष्ट्रिय समाचार समितिमा समेत पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएपछि त्यस्ता मिडिया हाउसमाथि कार्वाही गर्न सरकारसँग माग गर्नु परेको महासंघका उपाध्यक्ष दिलिप थापामगरले जानकारी दिए ।

थापाका अनुसार महासंघले मन्त्री बास्कोटासँग स्वतन्त्र र स्वायत्त राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न पनि गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघको ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री बास्कोटाले पत्रकारहरुको पछिल्लो पटक वृद्धि गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी गराएका थिए ।

महासंघले स्थानीय तहबाटै संचार माध्याम दर्ता, नविकरण, संचार माध्यमको वर्गीकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी दिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्