Logo

महासमिति बैठकमा रस्साकस्सी : नेताहरुको आरोपको जवाफ देउवाले कसरी दिए ?



मंसिर २९, काठमाण्डौ । महासमिति बैठकमा जुटेको नेपाली कांग्रेसले राजनीतिक, आर्थिक र सांगठानिक विषयमा सघन छलफल गर्दैछ । तर, वीपी कोइरालालाई ‘महामानव’ बताउँदै आएको कांग्रेसभित्र सांस्कृतिक बहसचाहिँ खासै हुन सकेको छैन । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेताहरुले कांग्रेसलाई बलियो र प्रभावकारी पार्टी बनाउनका लागि आ–आफ्नो सुझाब दिएका छन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एकता देखाउनका लागि मात्रै नभई यथार्थमा पार्टी एकता हुनुपर्ने बताएका हुन् ।

उपसभापति विजय कुमार गच्छदारले हात उठाएर एकताको संदेश दिन गरेको आव्हान प्रति लक्षीत गर्दै उनले हात उठाएर मात्रै एकतावद्ध नहुने उल्लेख गर्नुभयो । एकताको बैज्ञानिक आधार खडा गरि कार्यगत र ठोस एकता हुनुपर्नेमा जोड दिए ।

युवा अवस्था देखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेका मान्छेका बीचमा मेल किन नहुने भन्दै उनले महासमिति सदस्यहरुलाई प्रश्न गरे “फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुदैन ? फेरी जिल्लामा गएर छिड्के दाउ खेल्नु हुन्छ कि हुदैन ? ”
‘अगुल्टोले हानेको कुकुर बिजुली देखी तर्सिन्छ ’भने जस्तो विगतमा पनि एकता भएको संदेश दिएर पार्टी ठुलो दुर्घटनामा परेको उल्लेख गर्दे उनले भने “यथार्थबादी बनेर विषय, कार्यशैली र पार्टी भित्रको कमजोरी हटाउन एकता गरौ । ”

कम्युनिष्टकै लहै लहैमा लागेर कार्यकर्ताहरुले पनि नेताहरुलाई विपीको बाटो छोडे भन्ने आरोप लगाउने गरेको भन्दै उनले नेतृत्वले विपीको बाटो नछोडेको दाबी गरे । बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउमा अधिकार पुर्याउने, ग्रामिण विकास देखि मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने लगायत काम विपिकै चाहाना अनुरुपका भएको दाबी उनले गरेका छन् ।

केन्द्रीय सदस्य रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्नेमा जोड दिएका छन् । महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महतले विना पुर्वाग्रह आन्तरिक समिक्षा गर्दै सबैमा आशा जगाउने गरि महासमिति बैठकले एकताको संदेश सहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताए । प्रतिपक्षी दलको भुमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आईपुगेको भन्दै आत्मसमिक्षा सहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताए । महतले ‘आधुनिक नेपालको मोर्डनाइजर’ गिरिजाप्रसाद कोइराला भएको दाबी गरेका छन् ।

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने बताए । गुटउपगुटको अन्त्य नभएसम्म कम्युनिष्ट संग लड्न नसकिने भन्दै केसीले विगतमा भएका गल्तीबारे विना पुर्वाग्रह समिक्षा गरिनुपर्ने बताए ।

त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले अहिले पनि विपि कोइराला भइदिएको भए समयअनुसारको एजेण्डाले प्राथमिकता पाउने बताए । उनले पटक पटक विपिको स्मरण गर्दै आजको कांग्रेसलाई पनि विपिको निर्देशनअनुसार अगाडि बढाउने पर्नेमा जोड दिए । विपिको सोचअनुसार कांग्रेसलाई अगाडि बढाउनका लागि महासमिति बैठक फलदायी बनाउनुपर्नेमा शर्माले जोड दिए ।

त्यस्तै उपसभापति विमलेन्द्र निधीलेले आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका साथ एकतावद्ध भएर अघि बढ्न आव्हान गरे ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दे उहाँले पराजयलाई लिएर दुख मनाउ गरेर बस्नु भन्दा एकतावद्ध भएर थप उत्साहका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।

नेता कृष्णप्रसाद सिटौलाले महासमिति सदस्यहरुलाई आफ्नो मनमा लागेका कुराहरु खुलेर राख्न आग्रह गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले केन्द्रले प्रस्तुत गरेका एजेण्डामा आफ्ना मत राख्न आग्रह गरेका हुन् ।

चुनावपछि विभिन्न जिल्लामा जाँदा नेता कार्यकर्ताले धेरै गुनासो पाएको भन्दै उनले भने, ‘महासमिति सदस्यहरुलाई म आग्रह गर्छु, मलाई जे भन्नु भएको थियो, मनमा लागेको खुलेर बोल्नुस् ।’

अन्तिममा सम्बोधन गरेका सभापति शेर वहादुर देउवाले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन महासमिति बैठक सफल हुने आशा व्यक्त गरे । उनले अब पार्टीलाई शसक्त रुपमा अघि बढाउनका लागी एकताबद्ध भएर अघि बढ्नुको बिकल्प नभएको धारणा राखे । उनले पार्टीको कामकारवाहीमा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरे ।

देउवाले आफूविरुद्ध जति पनि बोल्ने नेताहरुले सरकारविरुद्ध नबोल्नुको कारणका बारेमा प्रश्नसमेत गरे ।

त्यस्तै सरकार हरेक मोर्चामा असफल भइसकेको आरोप लगाउदै देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरेको जिकिर गरे । केपी ओली नेतृत्वको सरकारले जनतालाई महँगी र भ्रष्टाचार उपहार दिएको देउवाको टिप्पणी थियो ।

शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि कांग्रेसको यो पहिलो महासमिति बैठक हो । पुस ३ गतेसम्म चल्ने बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वा्चित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्