Logo

‘एसिया प्यासिफिक समिटका कारण नेपालका केटाकेटीहरुलाई जापान र कोरियामा मगन्ते बनाइएको छ’



भीम रावल, नेता, नेकपा
आजदेखि नेकपाको स्थायी कमिटि बैठकले निरन्तरता पाउँदैछ । बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र बामदेव गौतमको फरक विचारमा बहस हुने देखिएको छ । लिखित रुपमा फरक विचार नराखे पनि बैठकमा भिम रावलको प्रस्तुति कस्तो होला भन्ने चासो धेरैलाई छ । उनै रावलसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

स्थायी समिति बैठकमा तपाईको विचार के हुनेछ ? कुन गुटलाई सहयोग गर्नुहुन्छ ?
छलफलमा मैले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेकपाको एकताको विषयमा बहस गर्नेछु । जो नेताले मेरो भावनाअनुसारको विचार राख्नुहुन्छ उहाँकै पक्षमा हुन्छु ।

तपाई कसको विचारमा सहमत हुनुहुन्छ ?
यसबीचमा सरकारबाट भएका गल्ती कमजोरी पहिल्याउने, आगामी दिनमा राष्ट्रियताको रक्षा र घोषणापत्रमा उल्लेख गरिएका विषय र विगतमा गरिएका बाचा प्रतिवद्धता पूरा गर्न र पार्टीलाई विधि र प्रक्रियाबाट अगाडि बढाउने विषयमा जसजसको विचार आउँछ उसैसँग मेरो विचार मिल्छ ।

तपाई बामदेव गौतमतिर लाग्न खोज्नुभएको हो ?
होइन, म कोही व्यक्तितिर लाग्दिन । विचार हेर्ने हो । देश, जनता र पार्टीको हितमा मात्रै मेरो ध्यान केन्द्रित हुनेछ ।

अध्यक्षहरुको र वामदेव गौतमको फरक फरक राजनीतिक प्रतिवेदन आएको छ । कुन चाँही ठीक छ ?
मैले दुवै प्रतिवेदनको गहन अध्ययन गरेँ । दुवै प्रतिवेदनमा भएका सकारात्मक कुराको समर्थन र नकारात्मक पक्षको खण्डन गर्नेछु । नमिलेका विषय सच्याउन सुझाब दिनेछु । सबैले तथ्यअनुसार विचार व्यक्त गर्नुपर्छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीप्रति तपाई सन्तुष्ट हुन नसक्नुभएको हो ?
केही समयअघि एसिया प्यासिफिक समिट भयो, एउटा विवादास्पद संस्था, जहाँ परिवार दलका मानिसलाई लिएर प्रधानमन्त्रीको हस्ताक्षरसहित संसारका विभिन्न राष्ट्रमा लगियो । समिटमा भएको सहभागिता गलत कार्य हो । यस्तो प्रवृत्ति सच्याउनुपर्छ भन्ने मेरो माग हुन्छ । मेरो मागप्रति सहमत हुने नेताहरुलाई म पनि समर्थन गर्छु ।

समिट नेपालका लागि लाभदायक भयो भनेर प्रधानमन्त्री ओलीले भनिरहनुभएको छ । तपाईले किन विरोध गर्नुपर्यो ?
म तथ्यबिना बोल्दिन । मेरो तथ्यलाई कसैले खण्डन गर्न सक्छ भने ठिकै छ । परिवार दललाई अगाडि सारेर, त्यो मुन भन्ने, जसका कारण अहिले पनि मारामार र कुटाकुट छ । कोरियामा आमाछोरा लडिराछन् । नेपालका केटाकेटीहरुलाई जापान र कोरियामा मगन्ते बनाइएको छ । त्यो हेराँै, अध्ययन गरौँ । एउटा धर्मिक कार्यक्रमका लागि प्रधानमन्त्री होटलमा गएर बस्न मिल्छ ?

स्थायी समिति बैठकले पार्टीभित्रको द्धन्द्ध झन बढाउने हो ?
होइन । यो त सच्चिने मौका हो । पार्टी र सरकारले देश र जनताको हितमा कसरी काम गर्ने भन्ने विषयमा गहन छलफल गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्