काठमाडौँ,५ पुस । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ ।
“माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ”, नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए”, विभिन्न दुर्घटनामा मृत्यु भएका माडीको नागरिकता भएका र बसोबास गरेका नागरिकले बीमा रकमको रु पाँच लाख पाउनेछन् ।”
माडीमा वन्यजन्तुले वर्षेनी कृषिबालीमा क्षति गर्ने भएकाले त्यसको पनि बाली बीमा गर्ने तयारी भइरहेको प्रमुख ढकाल बताउन्छन । यस विषयमा चितवन राष्ट्रिय निकुञ्ज पनि सकरात्मक बनेको उनको भनाइ रहेको छ । यस्तै राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणबाट घरका अभिभावक बाबु अथवा आमाको मृत्यु भए उनका सन्तानलाई रु पाँच लाखको शैक्षिक कोष बनाउने तयारी नगरपालिकाको छ । रासस