Logo

राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २५ देखि



काठमाडौँ, ५ पुस । दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २५ गतेदेखि हुने भएको छ  आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यही पुस २५ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन गरिने जानकारी दिएको हो ।

प्रतियोगिताका सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगितामा छदेखि आठ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीको नामावली केहीदिनभित्रै सार्वजनिक गर्ने क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख र उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख एक हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु १५ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही रु पाँच÷पाँच हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने उपत्यका बाहिरका टोलीलाई खान, बस्न र यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको कूल बजेट करीब २३ लाख रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्