Logo

दलितले पाउँदैनन् जन्ती र मलामी



काठमाडौं ८ पुस ।  चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो ।

गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् । कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।

सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन । अन्तरजातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण दलित थप हिंसा भोग्न बाध्य छन् । चुला छोएकै निहुँमा सुर्खेतको कुनाथरीमा केही समयपहिले एक बालकमाथि निर्मम कुटपिट भयो । कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भए ।

सुर्खेतकै साटाखानीमा सार्वजनिक धारा छोएको आरोपमा स्थानीय टीकाकुमारी मिजारमाथि निर्घात कुटपिट भयो । अघिल्लो वर्ष असारको घटना हो यो । कथित माथिल्लो जातिको आक्रमणबाट मिजारलाई आफन्तले बल्लतल्ल बचाए । उनले नयाँ जीवन पाइन् ।

प्रहरीले जातीय विभेद गरेको भन्दै प्रहरीले मनकुमारी राई र उनका छोरा मनबहादुर राईलाई पक्राउ पनि ग¥यो । तर राजनीतिक दबाबमा यो घटनामा पनि मिलापत्र भयो । पीडितले नै बयान बदलेपछि पीडक हिरासतमुक्त भए । पीडितले कानुनी न्याय पाउने बाटो नै बन्द भयो ।

जुम्लाको तातोपानी गाँउपालिकास्थित सार्कीबाडामा रहेको दलित बस्ती । तस्विर : नन्दराम जैसी

सामाजिक चेतनाको कमी, धार्मिक अन्धविश्वास, कानुनी सजाय नहुँदै मुद्दा मिलापत्र र पीडितले न्याय नपाउने अवस्थाका कारण यस्ता घटनाहरु बढ्दै गएको दलित अधिकारकर्मी खगिसरा वली बताउँछिन् । पीडकलाई कानुनी सजाय भएको नजिर स्थापित नहुँदासम्म यस्ता घटनामा कमी नआउने उनको भनाइ छ । कर्णालीमा जातीय छुवाछुतका घटना कम नभएको र जातीय विभेदकै कारण दलितमाथिको आक्रमण र सामाजिक बहिस्कार नरोकिएको दलित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको तथ्याकंले पनि देखाएको छ ।

जन्ती र मलामी पाउनै मुस्किल

विभेदको चरम नमुना के होला ? त्यो कालिकोटमा देख्न सकिन्छ । यहाँ दलितले जन्ती र मलामी समेत पाउँदैनन् । दलित भने अरुको जन्ती र मलामी जान्छन् । तर कथित उपल्लो जातिका व्यक्तिले पैँचो तिर्न जान्दैनन् । अरु जातिकाले दलितलाई बहिष्कार गर्दै आएका छन् ।

‘देशमा परिवर्तन आयो भन्छन् । हामीले चाहिँ थाहा पाएका छैनौँ,’ नरहरिनाथ गाँउपालिका लालुनिवासी रतनसिंह दर्जी भन्छन्, ‘गाउँमा छुवाछुत अहिले पनि उस्तै छ । हामी दलितले त शुभकार्यमा जन्ती र मर्दा मलामी नपाउने अवस्था छ ।’

नेपाल राष्ट्रिय दलित समाज कल्याणका जिल्ला संयोजक वीरबहादुर तिरुवा भन्छन्, ‘जिल्लामा छुवाछुत उस्तै छ । धार्मिक संस्कारका कारण पनि दलितले विभेद सहनु परेको छ । सार्वजनिक कार्यक्रममा पनि दलितको सहज पहुँच छैन । नेतृत्व स्वीकार गर्न पनि समस्या देखिएको छ ।’

स्कुलमा पनि छुवाछुत

छुवाछुत अपराध हो भनेर सिकाउने थलो स्कुल हो । तर कर्णालीका स्कुलमै छुवाछुत छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाका स्कुलमा छोइछिटो बारिन्छ । दलित विद्यार्थीले छोएको खाजा गैरदलितले नखाएपछि यहाँका विद्यालयले दिवा खाजा नै बदलेका छन् ।

कर्णालीका हिमाली जिल्लामा प्राथमिक तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था छ । तर विद्यालयमा पकाइने खाजा दलित बालबालिकाले छोएको भन्दै गैरदलितले खान मानेनन् । अहिले पकाउन मिल्ने खाजा छोडेर सुख्खा खाजाको व्यवस्था गर्न थालिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको रावतबाडामा रहेको धौलागिरी आधारभूत विद्यालयका बालबालिका सुख्खा खाजा खाइरहेका छन् । दलितले छोएको खाजा नखाने गैरदलित बालबालिकाले अडान लिएपछि आफूहरुले अहिले सुख्खा खाजा मात्र दिने गरेको शिक्षक कर्ण विकले जानकारी दिए । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्