काठमाडौँ,८ पुस । मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो ।
दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेको भन्दै सुरक्षाको कारण देखाउँदै फर्किएको देवगणले पुनः नाच प्रदर्शन गरेका थिएनन् । यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचको सुरक्षा र आवश्यक खर्चलगायतको सहयोग गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको दिन साँझदेखि नवदुर्गा नाच प्रदर्शन शुरु भएको हो ।
नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मध्यपुर थिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हँुदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यो रोकिएका कारण नगरपालिकाकै पहलमा आवश्यक सहयोग र खर्च व्यहोर्ने भएपछि नाच सञ्चालनमा आयो ।”
नगरपालिकाका प्रमुख श्रेष्ठ सहितका जनप्रतिनिधिले नाच प्रदर्शन गर्न आग्रह गरेपछि सुरक्षाको व्यवस्था गर्न र आवश्यक खर्च व्यहोर्न माग गरी मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुईबुँदे सहमति भएपछि यस वर्षदेखि नवदुर्गा नाच प्रदर्शन गर्न सञ्चालनमा आएको हो ।
मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म सञ्चालन हुने यो नाच पहिलो दिन हिजो साँझ दिगुटोलबाट शुरु भएर बालकुमारी गएर बालकुमारी सत्तलमा गएर बसेको छ ।
आज बिहानैदेखि बालकुमारीमा नवदुर्गाको पूजा अर्थात द्यो बोयकेगु गर्न स्थानीय बासिन्दाको बालकुमारीमा घुइँचो लागेको छ । आज साँझ लायकु, जाने नवदुर्गा एक सातासम्म दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट, गाम्चासम्म प्रदर्शन हुने गरेको छ । रासस