काठमाडौँ, १२ पुस । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ । गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ ।
आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको घोषणा गरेकाले मुलुकमा द्वन्द्वरत समूह नभएको जनाएको हो ।
नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नभएको वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले उल्लेख गर्नुभयो । “हामी के निष्कर्षमा पुग्यौं भने विगतमा भएका समूह अब राजनीतिक पार्टी र कुनै समूहको हैसियतमा छैनन् एकाध आपराधिक गतिविधि गरे पनि त्यो नितान्त उनीहरुको व्यक्तिगत स्वार्थको निम्ति हुनेछ र अब कुनै पनि समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नरहेको हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,” उहाँले भन्नुभयो ।
संविधानबाहिरका राजनीतिक दल-सशस्त्र समूहसँग भएका सहमति÷सम्झौता कार्यान्वयन सुझाव कार्यदल २०७१ ले अध्ययन गर्दा एक हजार १७६ व्यक्तिहरुलाई मुद्दा लागेको अवस्था थियो ।
वार्ताटोलीले अध्ययन गर्दा जम्मा ६०७ मुद्दा लागेका व्यक्तिको विवरण प्राप्त भएकोमध्ये कानूनबमोजिम फिर्ता लिन नसकिने मुद्दा ३२८ रहेको छ । कानूनबमोजिम फिर्ता वा माफिको प्रक्रिया अघि बढाउन सकिने प्रकृतिका मुद्दा २७९ रहेको छ । रासस