काठमाडौं, १४ पुस । सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र नेपाल सामूदायिक विद्यालय व्यवस्थापन समिति संघले सरकारद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको मस्यौदाको विरोध गरेको छ । उक्त मस्यौदामा आफूहरुको सुझाव समावेश नगरिए कुनैपनि हालतमा प्रतिवेदन स्विकार नगर्ने उनीहरुको चेतावनी छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघ र संघले आयोगको मस्यौदा आफूहरुको हितविपरित रहेको स्पष्ट पारेका छन् । उनीहरुले आफ्ना सुझावहरु पनि आयोगले समेट्नुपर्ने भन्दै ८ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कृष्ण थापाले सामूदायिक विद्यालय स्थानीय समूदायको भएको उल्लेख गर्दै विद्यालय विकास तथा व्यवस्थापनको जिम्मेवारी प्रअलाई दिईनु अव्यवहारिक र अलोकतान्त्रिक भएको आरोप लगाए । थापाले आफूहरुले अघि सारेका ८ बुँदे सुझावहरु आयोगले नसमेटे चरणवद्ध आन्दोलनमा उत्रिनेपनि चेतावी दिए ।
थापाले भने,‘हामीले आयोगलाई आफ्ना तर्फबाट सुझावहरु समयमै पेश गरिसकेका छौं । तर, आयोगले अघि सारेको मस्यौदा हेर्दा हाम्रा सुझावहरु समेटेको देखिएन । अझैपनि समय छ, हाम्रा सुझावहरु समावेश गरियोस् ।’ स्थानीयस्तरमा रहेका विद्यालयहरुको विकास र व्यवस्थापन स्थायनी तहबाटै हुनुपर्ने आफूहरुको मुख्य सुझाव रहेको छ ।
उनले अहिले आयोगले ल्याएको मस्यौदाले निजी विद्यालयलाईमात्रै प्रसय दिनेखालको रहेको पनि गम्भिर आरोप लगाए । ‘निजी विद्यालयमा व्यवस्थापन समिति हुँदैन, त्यहाँ लगानीकर्ता वा सञ्चालकले नै सबै कुरा चलाउँछन्’उनले भने–‘सरकारले निजी विद्यालयको सिको गरेर सामूदायिक विद्यालयलाई धराशयी र जनताबाट टाढा राख्न खोजिएको छ । यो कुनैपनि हालतमा मान्य छैन ।’
अहिले आएर वर्तमान सरकारले २०४९ सालको जस्तै विद्यालय व्यवस्थापन समिति खारेज गरेर सामूदायिक विद्यालयको जिम्मेवारी एकजना व्यक्तिलाईमात्रै सुम्पिन खोजेको थापाको आरोप छ ।
कार्यक्रममा संघका महासचिव रामकुमार थापाले आयोगको मस्यौदा प्रतिवेदन आफूहरुलाई यथास्थितिमा मान्य नभएको चेतावनी दिए । थापाले संविधान समाजवाउन्मुख रहेको तर सरकारका लागि निजी विद्यालय अप्ठ्यारो ठाउँमा आएको पिलोजस्तै बनेको टिप्पणी गरे ।
उनले निजी विद्यालयको सिको गरेर सामूदायिक विद्यालयको स्तरोन्नती कदापी नहुने जिकिर गरे । थापाले भने,‘सरकारले यस्तो कदम चाल्नु भनेको त सिधै निजी विद्यालयलाई प्रसय दिनु हो ।’
२०४६ सालको परिवर्तनपछि निजी विद्यालयहरु ह्वात्तै बढेको र त्यसैको प्रतिफलस्वरुप राज्यले दुई थरिका नागरिकहरुको उत्पादन गरिरहेको पनि उनले आरोप लगाए ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन प्रक्रिया नै गलत मनशायबाट भएकोमा आफूहरुले यसअघि नै विरोध जनाएको सुनाउँदै थापाले भने,‘त्यो आयोगमा स्थानीय अभिभावकहरुकोपनि उपस्थिति हुनुपर्दथ्यो । तर, त्यसको गरिएन । शिक्षा विज्ञ भनाउँदाहरुलाई मात्रै आयोगमा समावेश गरिएको थियो । यसमा हाम्रो घोर आपत्ति थियो ।’
थापाले ३० हजार सामूदायिक विद्यालय व्यवस्थापन समितिको यो आयोगको मस्यौदा प्रतिवेदनमाथि गम्भिर ध्यानाकार्षण भैसकेको पनि जनाए ।
कार्यक्रममा महासंघका महासचिव गुणराज मोक्तानले पनि आयोगको मस्यौदाप्रति आफूहरुको गम्भिर विरोध रहेको स्पष्ट पारे । उनले अभिभावकको अधिकार कटौती गर्ने कुरा आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिए ।
महासंघका अध्यक्ष थापा र संघका कार्यवाहक अध्यक्ष गिरिन्द्र अधिकारीको संयुक्त नाममा जारी प्रेस विज्ञप्तीमार्फत अभिभावकको ६० प्रतिशत प्रतिनिधित्व र नेतृत्व सहितको विद्यालय व्यवस्थापन समिति हुनु पर्छ र विद्यालयमा सुशासन र प्रभावकारी व्यवस्थापनको लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउने संयन्त्र स्थापना हुनुपर्ने र विद्यालयको स्वामित्व अभिभावक र विद्यालय व्यवस्थापन समितिमा रहनु पर्छ र प्राज्ञिक नेतृत्व र शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापकलाई जिम्मेवार बनाउनुपर्ने माग अघि सारेका छन् ।
त्यस्तै, उनीहरुले वि.व्य.स.को अध्यक्ष बनाउन प्रधानाध्यापकले सिफारिस गर्ने र स्थानीय शिक्षा कार्यालयले नेतृत्व चयन गर्ने प्रस्ताव हटाईविद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन अभिभावक भेलामार्फत नै गर्नुपर्ने नीतिगत व्यवस्था हुनुपर्ने, विद्यालय व्यवस्थापन समितिमा अभिभावकको समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, विद्यालयको प्रशासनिक र प्राज्ञिक नेतृत्व अभिभावक प्रति जवाफदेही बनाउन प्रधानाध्यापकको नियुक्ति विद्यालय व्यवस्थापन समितिले गर्नु पर्ने, विद्यालय शिक्षामा गुणस्तर तथा जवाफदेहिता सुनिश्चितताको लागि शिक्षकले प्रधानाध्यपकसँग, प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिसँग र विद्यालय व्यवस्थापन समितिले स्थानीय प्रति उत्तरदायी हुनेगरी सरकारसँग करार गर्ने प्रावधान समावेश हुनुपर्ने, स्थानीय तह, प्रदेश तह र संघीय सरकारको शिक्षा सम्बन्धी नीति निर्माणमा विद्यालय व्यवस्थापन समितिहरुको प्रतिनिधिमूलक संस्थालाई स्थायी रुपमा संस्थागत प्रतिनिधित्व निश्चित गर्नुपर्ने र स्थानीय सरकारको विद्यालय व्यवस्थापन गर्न पाउने अधिकारको सम्मान गर्दै ती तहले विद्यालय व्यवस्थापन गर्ने नागरिकका अधिकार सङ्कुचित नगर्ने प्रत्याभूति गरिनु पर्नेपनि माग अघि सारेका छन् ।
मस्यौदाप्रति आफूहरुले विद्यालय व्यवस्थापन समितिका सम्बन्धमा दिएका सुझाव आयोगको प्रतिवेदनमा नराखिए प्रतिवेदन स्वीकार नगर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।
प्रेश विज्ञप्ती
मिति : २०७५।०९।१२
पत्रकार मित्रहरु
नेपालको संवैधानिक व्यवस्था र समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि शिक्षाको दुरदृष्टि, नीति, रणनीति, संरचना र समसामयिक सुझाव सहितको प्रतिवेदन तयार गर्न नेपाल सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको मस्यौदा प्रतिवेदन उपर देशभरीका करिब ३० हजार सामुदायिक विद्यालय व्यवस्थापन समितिको गम्भीर ध्यानाकार्षण भएको छ । प्रथमतः सरकारले गठन गरेको आयोगमा अभिभावकहरुको प्रतिनिधिका रुपमा रहेका विद्यालय व्यवस्थापन समितिहरु र समग्र अभिभावकको तर्फबाट प्रतिनिधित्व नगराइएको र सुझाव समेत माग नगरिएको प्रति अभिभावकहरुको वैधानिक प्रतिनिधि संस्थाका रुपमा रहेका विद्यालय व्यवस्थापन समितिहरुको घोर आपत्ति रहेको छ ।
आयोगको मस्यौदा प्रतिवेदन अध्ययन गर्दा अभिभावकको संलग्नता र तिनीहरुको भूमिकाका सन्दर्भमा प्रस्तुत सुझावमा विद्यालय व्यवस्थापन समितिहरुको कहिल्यै कुनै भूमिका नरहेको जस्तो रुपमा प्रस्तुत गरिएको देखिन्छ । अभिभावक र समुदायको मेहनत र पसिनाले स्थापना र सञ्चालन गरेको विद्यालय अभिभावकको हातबाट खोसेर सरकारको राजनैतिक अंगको नियन्त्रण र एक जना व्यक्ति (प्र.अ.)को कब्जामा राख्ने कुरा बिलकुल अलोकतान्त्रिक विधि र संरचनाको गरिएको प्रस्ताव प्रति विद्यालय व्यवस्थापन समितिहरु असहमति जनाउँदै खेद प्रकट गर्दछ ।
हामी स्मरण गराउन चाहन्छाँै नयाँ शिक्षाका नाममा २०२८ सालमा जनताबाट सरकारले विद्यालय खोसेदेखि नै शिक्षाको भित्री अधोगति शुरु भएको हो । सरकारीकरण र केन्द्रीयकरण असफल प्रमाणित भइसकेका हुन् । सम्भवतः समुदायको विस्थापन नै नाफामुखी विद्यालय पैmलिने पृष्ठभूमि थियो । यस विषयमा विज्ञ मन्त्रीज्यू र प्रबुद्ध सदस्यज्यूहरु अनभिज्ञ हुनुहुन्न । राज्य जनताको नियन्त्रणमा ल्याउन यत्रो सङ्घर्ष र बलिदान गरियो । यतिबेला विद्यालय समुदाय र अभिभावकको नियन्त्रणबाट बाहिर लैजाने प्रयत्न आश्चर्यजनक, खेदपूर्ण र अलोकतान्त्रिक छ । कतै पनि अभिभावकको समर्थन र सहयोग बिना विद्यालय उन्नत भएका छैनन् । उनीहरु सधैँ पृष्ठभूमिमा छन् । गर्न चाहने र सक्ने प्रधानाध्यापकलाई कतै पनि विद्यालय व्यवस्थापन समितिले असहयोग गरेका छैनन् ।
तल्लो तहदेखि नै नागरिकलाई अधिकार सम्पन्न गर्ने संवैधानिक मर्म अनुरुप सामुदायिक विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको प्रतिनिधिमूलक संस्था विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार, जवाफदेही र शक्तिसम्पन्न बनाउन निम्न सुझाव तथा मागहरु पेश गरिएको छ ।
हाम्रा माग तथा सुझावहरु
१. अभिभावकको ६० प्रतिशत प्रतिनिधित्व र नेतृत्व सहितको विद्यालय व्यवस्थापन समिति हुनु पर्छ र विद्यालयमा सुशासन र प्रभावकारी व्यवस्थापनको लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउने संयन्त्र स्थापना हुनु पर्छ ।
२. विद्यालयको स्वामित्व अभिभावक र विद्यालय व्यवस्थापन समितिमा रहनु पर्छ र प्राज्ञिक नेतृत्व र शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापकलाई जिम्मेवार बनाउनु पर्छ ।
३. वि.व्य.स.को अध्यक्ष बनाउन प्रधानाध्यापकले सिफारिस गर्ने र स्थानीय शिक्षा कार्यालयले नेतृत्व चयन गर्ने प्रस्ताव हटाईविद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन अभिभावक भेला मार्फत नै गर्नु पर्ने नीतिगत व्यवस्था हुनुपर्छ ।
४. विद्यालय व्यवस्थापन समितिमा अभिभावकको समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।
५. विद्यालयको प्रशासनिक र प्राज्ञिक नेतृत्व अभिभावक प्रति जवाफदेही बनाउन प्रधानाध्यापकको नियुक्ति विद्यालय व्यवस्थापन समितिले गर्नु पर्छ ।
६. विद्यालय शिक्षामा गुणस्तर तथा जवाफदेहिता सुनिश्चितताको लागि शिक्षकले प्रधानाध्यपकसँग, प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिसँग र विद्यालय व्यवस्थापन समितिले स्थानीय प्रति उत्तरदायी हुने गरी सरकारसँग करार गर्ने प्रावधान समावेश हुनुपर्छ ।
७. स्थानीय तह, प्रदेश तह र संघीय सरकारको शिक्षा सम्बन्धी नीति निर्माणमा विद्यालय व्यवस्थापन समितिहरुको प्रतिनिधिमूलक संस्थालाई स्थायी रुपमा संस्थागत प्रतिनिधित्व निश्चित गर्नुपर्छ ।
८. स्थानीय सरकारको विद्यालय व्यवस्थापन गर्न पाउने अधिकारको सम्मान गर्दै ती तहले विद्यालय व्यवस्थापन गर्ने नागरिकका अधिकार सङ्कुचित नगर्ने प्रत्याभूति गरिनु पर्दछ ।
मस्यौदाप्रति हामीले विद्यालय व्यवस्थापन समितिका सम्बन्धमा दिएका सुझाव आयोगको प्रतिवेदनमा नराखिए प्रतिवेदन स्वीकार नगर्न हामी बाध्य हुनेछौँ ।
गिरिन्द्र अधिकारी कृष्ण थापा
केन्द्रीय का.वा. अध्यक्ष केन्द्रीय अध्यक्ष
नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल