Logo

यस्तो छ रामबहादुर बमजनको कहानी, दोषी कि निर्दोष ? (भडियोसहित)



पुष १४, काठमाण्डौ । आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जन विवादमा तानिएका छन् । उनको आश्रमबाट मान्छे हराउन थालेपछि हराएका व्यक्तिका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् । तर बमजनका पक्षधरले भने आरोप अस्विकार गरेका छन् ।

मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले । त्यसबेला १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन् । उनले आश्रमबाट केही व्यक्ति बेपत्ता पारेको आरोप लागेको छ । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका हुन् ।

बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले सरकारलाई आग्रह गरेका हुन । बमजनको आश्रमबाट डोल्मो र चुन्मोलगायत अन्य आनी र चेला बेपत्ता भएको दावी गरिएको छ । तर बमजनका पक्षधरले भने यो आरोप अस्विकार गरेका छन् । बमजन वास्तवमै तपस्वी भएको र कुनै पनि गलत क्रियाकलाप गर्न नसक्ने कतिपयको दावी छ ।

१६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए । तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको थियो ।

सुरुवाती समयमा बमजनलाई वास्तवमै वुद्ध भगवानसँग तुलना गरेर सम्मान र आदर गरिएको थियो । अनुयायीहरूले बिस्तारै उनी तपस्या गरेको क्षेत्रलाई धार्मिक ध्वजा–पताकाले सुसज्जित गरेर धार्मिक स्थल जस्तै बनाएका थिए । नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरेका थिए ।

तर बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै बमजन माथि विभिन्न किसिमका आरोप लाग्न सुरु भएको छ । बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बमजनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आएका थिए । यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका विवरण बाहिर आइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्