Logo

जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर



काठमाडौँ,१५ पुस । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ उक्त मन्दिर निर्माण गर्न थालिएको हो ।

रामपुर नगरपालिका भित्रको धार्मिक क्षेत्रमा ठूलो योजनाका रुपमा निर्माण भइरहेको यो पहिलो मन्दिर मन्दिरलाई रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् । विसं २०७६ को नामनवमीका दिन मन्दिरमा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने रामजानकी मन्दिर विकास परिषद्का अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । “मन्दिर निर्माणको काम पूरा नभए पनि तेस्रो तलामा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने योजना समितिको छ ।” उहाँले भन्नुभयो ।

चार तलाको मन्दिर, सत्तल, दुई वटा भवनसहितको सुविधासम्पन्न भवन निर्माण भइरहेको छ । रामपुर क्षेत्रलाई धार्मिक नगरीका रुपमा विकास गरी जनकपुरधामको झझल्को दिलाउन ठूलो लगानीमा मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । मन्दिरको अहिलेसम्म २५ प्रतिशत काम सकिएको छ । पौराणिक समयमा भगवान् रामचन्द्र वनवास जाने क्रममा मुक्तिनाथबाट घुम्दै आउँदा रामपुरमा आएर बसोबास गरेको इतिहासमा उल्लेख छ । रामचन्द्रले बसोबास गरेकाले यस क्षेत्रको नाम रामपुर रहन गएको बूढापाका बताउँछन् । रामचन्द्रले रामपुर नगरपालिका–५ को बेझाड बजार नजीकै भात पकाई खाएको चुलो रामचुलो मन्दिर परिसरमा छ । रु दश करोडको लागतमा उक्त मन्दिर निर्माण भइरहेको हो । रासस



प्रतिक्रिया दिनुहोस्