पुष २१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले शपथ लिएपछि यसको चौतर्फी विरोध भएको छ । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । चौधरीलाई उक्त आन्दोलनलाई चर्काउन मुख्य भूमिका खेलेको आरोपमा हालिएको मुद्धा विचाराधिन छ ।
फरार भएकै अवस्थामा कैलाली १ मा प्रतिनिधिसभा सदस्यको चुनाव लडेका टीकापुर घटनाका मुख्य अभियुक्त रेमश चौधरीले चुनाव जित्नुभयो । निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत बुझ्न चाहनुभएको थियो । सर्वोच्च अदालतसम्म धाउँदा पनि केही सिप नलागेपछि अघिल्लो वर्ष फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्नुभयो । अदालतले पूर्पक्षका लागि जेल चलान र्गयो । चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा हुनुहुन्थ्यो ।
राष्ट्रिय जनता पार्टीले लगातार उनले सपथ लिने वातावरण बनाउनु पर्ने माग गर्दै आएको थियो । उक्त मागलाई केपी ओली नेतृत्वको सरकारले पूरा गरिदिएको छ । तर चौधरीलाई सपथ खुवाइएकोमा धेरैले असन्तुष्टी जनाएका छन् । अपराधीलाई सपथ गराएर सांसद पदको मर्यादा नै अपमानित गराएको सर्वसाधारणको आरोप छ । अपराध अनुसारको कारबाही गर्नुपर्नेमा सांसदको सपथ गराएर सरकारले गलत गरेको सर्वसाधारण बताउँछन् । टिकापुर हत्याकाण्डमा संलग्न भएको विषयमा मुद्धा किनारा नलाग्दै सरकारले उन्मुक्ति दिएको भन्दै असन्तुष्टी चुलिएको छ ।
टिकापुर हत्याकाण्ड भएको जिल्ला कैलालीका जनताले चौधरीलाई सपथ खुवाइएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । दुई तिहाईको सरकारले गलत गरेको कैलालीका जनताको तर्क छ । हत्याकाण्डमा संलग्नलाई कारबाही गर्नुको साटो पुरस्कृत गरिँदा अपराधिक क्रियाकलाप झन बढ्ने सर्वसाधारणको चिन्ता छ ।
यता राजपा र सत्तारुढ दल नेकपाले भने चौधरीको सपथलाई सामान्य प्रक्रिया ठानेको छ । राजपा नेता राजेन्द्र महतोले चौधरीलाई सपथ खुवाउनु सरकारको दायित्व भएको बताए ।
“जनताले निर्वाचित गरिदिएपछि सांसदको लोगो लगाउने चौधरीको अधिकार थियो । पूरा भएको छ । अदालतमा मुद्धा भएको सन्दर्भमा हामी अदालतलाई मान्छाँै ।” महताले भने ।
यता सरकारका प्रवक्ता तथा मन्त्री गोकुल बास्कोटाले कैलालीमा भएको घटनामा चौधरी दोषी देखिए पनि सपथ खुवाउनु बाध्यता भएको संकेत गर्दै अब कानुनी बाटोमा चौधारी जानुपर्ने बताए ।
“प्रजातन्त्रमा दोषीलाई के हुन्छ ? अब हुकुम प्रमाङ्गीले नि चल्दैन, नारा जुलुसले नि चल्दैन । अब कानुनी बाटै नै हो ।” बास्कोटाले भने ।
चौधरीले पनि सपथलगत्तै आफू न्यायलयलाई विश्वास गर्ने बताएका थिए । नेकपाकै नेता सुवास नेम्वाङले भने चौधरीलाई जनताले जिताएर पठाएकाले सपथ खुवाईएको दावी गरे ।
निर्वाचनका बेला चौधरीको मनोनयनलाई निर्वाचन आयोगले स्वीकार गरेपछि नै चौधरीलाई सांसद बन्ने बाटो खुलेको नेम्वाङको तर्क छ ।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । चौधरीलाई उक्त आन्दोलनलाई चर्काउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।