Logo

फुटबल मैदानको लागि जमीन नापजाँच



काठमाडौँ,२४ पुस । पोखरामा आधुनिक र अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको लागि जमीन नापजाँच सर्भेको काम शुरु भएको छ । पोखरा रङ्गशालाभित्र फुटबल मैदानसहितको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा एम।ए।जिएसआई जेभीबीच गतहप्ता सम्झौताभएपछि निर्माण कम्पनीका प्राविधिकले जमीनको स्थलगत अध्ययन शुरु गरेका छन् ।

निर्माण कम्पनीले आजबाट जमीन नापजाँच सर्भेको काम शुरु गरेको एमए÷जिएसआई कन्ट्रक्सन जेभीका परियोजना म्यानेजर हरिबाबु न्यौपानले बताउनुभयो । गतवर्ष मङ्सिरमा नयाँ फुटबल स्टेडियम बनाउको लागि पोखरा रङ्गशालाभित्रको पुरानो प्यारापिट भत्काएको १३ महीनापछि नयाँ फुटबल स्टेडियमको काम शुरु भएको हो ।

नेपाली र भारतीय गरी छजना प्राविधिकको टोलीले स्थलगत अध्ययनको काम शुरु गरेको न्यौपानेले बताउनुभयो । ‘‘स्टेडियम डिजाइनको पहिलो चरणको काम सर्भे आजबाट शुरु भयो । यसलाई हामी एक साताभित्र पूरा गर्दछौँ’’, न्यौपानेले भन्नुभयो ।

रु एक अर्ब २८ करोड २० लाख लागतमा छ महिनाभित्रमा निर्माण सम्पन्न हुने स्टेडियममा साधारण १६ हजार ५०० तथा १२५ विशिष्ट र २५ क्षमताको अति विशिष्ट प्याराफिट निर्माण गरिने भएको छ । यसका साथै फुटबल मैदान, चेञ्जिङ रुम, एथलेटिक्स ट्र्याक तथा मिडिया सेन्टरलगायतका पूर्वाधार निर्माण गरिने राष्ट्रिय खेलकूद परिषद्का निर्माण शाखा प्रमुख अरुण उपाध्यायले बताउनुभयो ।

स्टेडियम बनाउनको लागि अर्थ मन्त्रालयले डेढ महीनाअघि मात्रै बजेट सुनिश्चितता गरेपछि बोलपत्र आह्वान प्रक्रिया टङ्गिएर सम्झौता भएको उपाध्यायको भनाइ छ । स्टेडियम फुटबलको सर्वोच्च निकाय फिफाले निर्दिष्ट गरेबमोजिम हुने बताइन्छ । फुटबल मैदान फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाइ र ६८ मिटरको चौडाइको हुने उल्लेख छ ।

सर्भे सम्पन्न गरेर तीन हप्ताभित्रमा डिजाइन तयार गरी अर्को महीनाबाट स्टेडियम निर्माणको काम शुरु गर्ने ग्रेट स्र्पोट्सका प्रमुख परदेशीले बताउनुभयो । हिजो साँझमात्र मात्र हाम्रो प्राविधिक टिम यहाँ आइपुग्यो । आजबाटै जमीनको सर्भे शुरु गरेका छौँ ।

एक्काइस दिनभित्र डिजाइन पूरा गरेर निर्माणको काम शुरु गछौं उहाँले भन्नुभयो । कम्पनीले फुटबल रङ्गशालाको प्रारम्भिक डिजाइन तयार गरिसकेको र अर्को महीनाबाट काम शुरु गरिने न्यौपाने बताउनुहुन्छ ।

प्यारापिटका लागि आवश्यक कुर्सी फ्रान्सबाट आयात गरिने र यहाँ जोड््ने काम मात्र हुने उहाँले बताउनुभयो । भएको रङ्गशालाको प्यारापिट पनि भत्काइएको र लामो समयसम्म नयाँ स्टेडियम बन्ने तयारी नहुँदा यहाँका खेलकूदप्रेमीले चिन्ता व्यक्त गर्दै आएका थिए ।

राष्ट्रिय खेलकूद परिषद्ले १३औँ दक्षिण एशियाली खेलकूद९साग० को महिला फुटबल पोखरामा खेलाउने बताए पनि स्टेडियमको अभावमा सो खेल यहाँ हुने÷नहुनेमा अन्योल रहेकामा अब भने अन्योल हटेको बताइन्छ ।
पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ढिलै भए पनि फुटबल स्टेडियम बनाउने सम्झौता हुनु सकारात्मक भएको र समयमै निर्माण पूरा गर्न हरतरहले सहयोग गर्ने बताउनुभयो ।

विसं २०३९ मा निर्माण गरिएको फुटबल स्टेडियमको विशिष्ट कक्ष २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । गतवर्ष नयाँ बनाउन सम्पूर्ण पुरानो संरचना भत्काइए पनि नयाँ नबन्दा खेलकूद गतिविधिमा असर पुगेको खेलकर्मीको भनाइ छ ।

मापदण्ड विपरीतका घर भत्काउँदै महानगर

पोखरा महानगरपालिकाले सार्वजनिक जमीनमा मापदण्ड मिचेर निर्माण गरिएका घर तथा संरचना भत्काउन शुरु गरेको छ । महानगरले सार्वजनिक जमीन मिचेर निर्माण गरिएका तथा फिर्के, बुलौँदी खोलाको मापदण्डभित्रका संरचना भत्काउन थालेको महानगरका प्रवक्ता एवं वडाध्यक्ष धनबहादुर नेपालीले बताउनुभयो ।

पोखरा–४ का वडासदस्य विष्णुमाया परियारले हालसालै सार्वजनिक जमीनभित्र निर्माण शुरु गरेको घरको ढलान महानगरले डोजर लगाएर भत्काएको छ । पक्की संरचना नबनाउन पत्राचार गरेको र पटकपटक मौखिक आग्रह गर्दा समेत अटेरी गरेर गत आइतबार घरको पहिलो ढलान सम्पन्न गरेपछि भत्काइएको भनाइ नेपालीको छ ।

परियारले नेपाल स्काउटको नाममा रहेको जमीनसमेत मिचेर संरचना बनाएको भन्दै वडा कार्यालय तथा महानगरमा समेत उजुरी परेको थियो ।
घरको जग राख्दादेखि नै गैरकानूनी काम नगर्न आग्रह गर्दै पत्राचार गर्दा समेत अटेरी गरी परियारले स्थायी संरचना बनाएको भनाइ महानगरको छ ।
सार्वजनिक जमीनको संरक्षणको लागि महानगरले प्रत्येक वडाबाट मापदण्ड मिचेर निर्माण भएका घर तथा संरचनाको तथ्याङ्क सङ्कलन गरिरहेको र सार्वजनिक जमीनमा निर्माण गरिएका संरचना हटाउने महानगरले बताएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्