मघ १२, काठमाण्डौ । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किएका छन् । स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलन गरेका छन् ।
प्त्रकारहरुसँग कुरा गर्ने क्रममा ओलीले भ्रमणका बारेमा जानकारी दिए । पत्रकाहरुले चिकित्सा शिक्षा विधेयकमा भएको विवादबारे प्रश्न गर्दा भने कुनै जवाफ दिएनन् । घुमाउरो भाषामा ओलीले सबै कुरा नबुझी केही पनि नबोल्ने बताए ।
डा. केसीको मागका विषयमा दोहोर्याएर प्रश्न गर्दा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि चिजको प्रक्रिया हुन्छ ।’
विधेयक पारित भएको तर डा. गोविन्द केसीको अनसन जारी रहेको बारे ओलीले बोल्न चाहेनन् । उनले केसीलाई लक्षित गर्दै सबैले संसदीय प्रक्रिया, विधि र नियम मान्नुपर्ने बताएका थिए ।
संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’
नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको विषयमा जारी गरेको वक्तव्यका विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने ‘म भर्खर आएको छ, यसबारेमा बुझ्छु ।’
स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भएका थिए । विश्व आर्थिक मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व आर्थिक मञ्चको ४९औं बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको बताए । डाबोसमा आफूले नेपालको वर्तमान राजनीति अवस्था, पर्यटनको सम्भवना, विदेशी लगानी, दिगो विकासका लागि नेपालले लिएको लक्ष्य बारे छलफल गरेको जानकारी गराए ।