माघ १३, काठमाण्डौ । नेपाल चिकित्सक सघका वरिष्ठ उपाध्यक्ष ढुण्डिराज पौडेलले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्था पुगेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले जनताको हितका लागि अनसन बसेका डा. केसीको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
केसीको ज्यान जोखिममा हुँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै पौडेलले ध्यानाकर्षण गराएका छन् ।
विगतमा डा. केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि गरेको प्रयास क्रमशः सफल हुँदै गएको उल्लेख गर्दै पौडेलले अहिले सरकारले धोका दिएको आरोप लगाए ।
१५ औँ अनसनका बेला डा. केसीसँग गरिएका सम्झौताअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइनु दुर्भाग्यपूर्ण र धोका भएको पौडेलको ठहर छ ।
डा. केसीको जीवनरक्षाको खाँचो रहेको औँल्याउँदै पौडेलले सबै नेपालीको हितका लागि केसीको सत्याग्रह महत्वपूर्ण रहेको बताए ।
“गोविन्द केसी मरे मरुन भन्ने प्रवृत्ति देखिनुभएन ।” पौडेलले भने । पौडेलले गोविन्द केसीलाई पनि लचक भएर सम्वादको वातावरण बनाउन सुझाब दिए ।
आफूसँग भएको सम्झौताबमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग राख्दै डा. केसी १९ दिनदेखि अनसनमा छन् । केसी अनसन बसिरहेकै अवस्थामा प्रतिनिधिसभाले विधेयक पारित गरेको हो ।