Logo

नेविसंघको आन्दोलन चर्कियो, ग्रामिण क्याम्पसका दर्जन बढि नेता पक्राउ



माघ १३, काठमाण्डौ । सरकारले बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।

नेपाली कांग्रेसनिकट नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम गरेको हो ।

यता तारकेश्वर नगरपालिकास्थित ग्रामिण आदर्श बहुमुखी कलेजका नेविसंघ कार्यकर्ताले पनि सरकारको विरोध गरेका छन् ।

विरोधका क्रममा नेविसघंका नेता कार्यकर्तालाई बालाजु प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थी नेताहरु पवन थापा,सन्तोष गुरुङ,किरण भट्टराई,सुशान्त सिटौला,परोपकार अधिकारी,सुवास अधिकारी,सन्तोषअधिकारी प्रकाउ परेको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।

कलेज अगाडिबाट विरोध गर्न शुरु गर्ने बित्तिकै प्रहरीले प्रकाउ गरेका हुन् । सरकारको विरोध गर्दै डा केसीको जीवन रक्षा गर,निर्मलालाई न्याय दे जस्ता नारा लगाएका थिए ।

केन्द्रिय सदस्य भट्टले विरोधका उत्रिएका विद्यार्थीहरुलाई पूर्वाग्रही ढगले पक्राउ गरिएको आरोप लगाउँदै विना शर्त रिहाईका माग गरेका छन् ।

नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्