Logo

‘उद्योगी–व्यवसायीको हितबिना समृद्धि सम्भव छैन’



राँझा, १४ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगी–व्यवसायीको हितबिना आर्थिक समृद्धि सम्भव नभएको बताउनुभएको छ ।

पाँचौँ कोहलपुर औद्योगिक व्यापार, कृषि फुड फेस्टिभल तथा पर्यटन महोत्सवको आज कोहलपुरमा उद्घाटन गर्दै उहाँले पाँच वर्षभित्र उद्योगी–व्यवसायीले भनेजस्तो लगानीमैत्री वातावरण बनाउनका लागि सरकार लागिपरेको जानकारी गराउनुभयो ।

“हामी अहिले एउटा व्यवस्थाबाट फड्को मारेर नयाँ व्यवस्थामा पुगेका छौँ, हामीसँग पाँचवर्षे स्थिर सरकार छ, जनताले काम गर्न खटाएअनुसार हामीले काम गरिरहेका छौँ,” मन्त्री यादवले भन्नुभयो, “सबै काम जनताले चाहेजस्तो तुरुन्तै भन्नासाथ हुँदैन समय लाग्छ तर हामी काम गरिरहेका छौँ ।”

उहाँले उद्योगमा गरेको लगानी सुरक्षित गर्ने जिम्मा सरकारले लिने बताउँदै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर मात्र देशमा उद्योगधन्दाको विकास सम्भव हुने बताउनुभयो ।

हाल मन्त्रालयले उद्योग, व्यापार र आपूर्तिका सबै क्रियाकलापलाई एकीकृत र समन्वयात्मक रुपमा गरी अघि बढाइरहेको जानकारी गराउँदै उहाँले संविधानअनुसार जनतालाई खाद्य आपूर्तिको अधिकार दिलाउन सरकार लागिपरेको बताउनुभयो ।

कोहलपुर उद्योग व्यापार सङ्घ र होटल व्यवसायी सङ्घ बाँकेले आयोजना गरेको महोत्सव यही माघ २५ गतेसम्म सञ्चालन हुने उद्योग व्यापार सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्