माघ १८, काठमाण्डौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले डा. गोविन्द केसीले अनसन बसेर गलत गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दीक्षितले अनसनको अडान छोडेर वार्तामा आउन केसीलाई आग्रह गरेका हुन् ।
डा. केसीले अहिलेसम्म अनसन बसेर केही पनि सुधार नभएको पनि दीक्षितको दावी छ । डा. केसीले १६ पटकसम्म अनसन बस्दा उपचार गर्न आएका विरामीले झन दुःख पाएको दीक्षितको तर्क छ । केसीको अनसनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले सेवा ठप्प पार्दा विरामी मर्कामा परेको दीक्षितो जिकिर छ ।
डा. केसीलाई समर्थन गर्नेमध्ये ८० प्रतिशतलाई खास मुद्धा नै थाहा नभएकोसमेत दीक्षितको दावी छ ।
२–३ वटा मेडिकल कलेजलाई मान्यता दिँदैमा नेपालभरीको स्वास्थ्य क्षेत्र खत्तम हुन्छ भन्नु गलत तर्क भएको दीक्षितले बताए । मापदण्ड पुगेका मेडिकल कलेजलाई अनुमति दिन रोक्नुपर्छ भन्नु गलत भएको दीक्षितको तर्क छ ।
मिडियाले पनि वास्तविक कुरा नबुझी केसीको समर्थन गरेको दीक्षितको आरोप छ । पैसाको चलखेलमा वा राजनीतिक दलको चलखेलमा मिडिया फसेकोसमेत दीक्षितले ठोकुवा गरे ।
नेपाली कांग्रेस र विवेकशील पार्टी पनि मुद्धै नपाएर केसीकै पुच्छर बनेको दीक्षितले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केसीलाई अनसन बस्न लगाएको आरोपसमेत दीक्षितले लगाए ।
सरकारले सम्झौता गरेर किन पालना गरेन भन्ने धमलाको प्रश्नमा भने दीक्षितले टार्ने प्रयास गरे । उनले भने–“सम्झौताको विषयमा सरकारलाई नै सोध्नुस् न ।” उपचार गर्नुपर्ने डाक्टरले चिकित्सा शिक्षा सुधार गर्छु भन्ने विषय नै जायज नभएको भन्दै दीक्षित डा. केसीमाथि खनिए ।
डा. केसीले डाक्टरको हैसियतले अहिलेसम्म केही पनि उल्लेख्य काम नगरेको आरोप समेत लगाए । यद्यपी दीक्षित आफैँ पनि डाक्टर नै हुन् ।
दीक्षितले डा. केसीलाई प्रश्न गरे–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? कति आविष्कार गर्यौ ?”
दीक्षितले डा. केसीको नियतमाथि नै प्रश्न गरे । डा. केसीलाई समर्थन गर्ने मेडिकल विद्यार्थीहरु परीक्षामा गोविन्द केसीले फेल गराइदिन्छ भन्ने डरले बाध्य भएर समर्थन गरेकोसमेत दीक्षितको दावी छ ।
संसदले पास गरेको विधेयकलाई डा. केसीले मान्नुपर्ने दीक्षितको भनाई छ ।
डा. दीक्षितसँगको पूरा कुराकानी सुन्न तलको लिंकमा जानुहोस् :
http://radionrn.com/archives/audiofile/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B0%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%9F%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A4%95%E0%A5%8B-354