माघ १८, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ । काठमाण्डौको सिंहदरबार गेट अगाडि नै नेविसंघका कार्यकर्ताले प्रहरीको आँखा छलेर कालो बेलुनमा सरकारविरोधि नारा लेखेर उडाएका थिए । देशका अन्य विभिन्न स्थानमा पनि नेविंघले सरकारविरोधी गतिविधी बढाएको छ ।
काँग्रेसको अवरोधका बाबजुद संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेविसंघले शुक्रबार सिंहदरबारको मूलगेट अगाडिको निषेधित क्षेत्र तोड्दै आन्दोलनलाई झनै चर्काएको हो । त्यस अवसरमा नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टसहित ८ जना कार्यकर्ताहरुले कालो बेलुनमा सरकारविरोधि नारा लेखेर उडाएका थिए ।
उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै सो बेलुन उडाएपछि डा. गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।
नेविसंघले बेलुन उडाएकै दिन डा. केसीले अनसन तोडेर आफ्नो माग पूरा गराउन फरक आन्दोलन गर्ने बताएका छन्
नेपाली काँग्रेसले डा. केसीको मागसँगै निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोभन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको हो । कैलालीको धनगढीमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
नेपाल विद्यार्थी संघले शुक्रबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । कम्युनिष्ट सरकारले एकपछि अर्को गर्दै गलत निर्णय गर्न थालेको भन्दै विरोधमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ । कैलाली बुहमुखी क्याम्पसबाट सरकारको विरोधमा नारावाजी गर्दै क्याम्पस गेट अगाडि पुत्ला दहन गरिएको हो ।
यसअघि नेपाल विद्यार्थी संघ रामेछापले पनि कम्युनिष्ट सरकारको कार्यशैलिको बिरोधमा बिहिबार साँझ मन्थलीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । शंख बजाउदै निकालिएको प्रधानमन्त्रीको पुत्ला सहित बजार परिक्रमा गरी पुत्ला दहन गर्ने योजनालाई प्रहरीले हस्तक्षेप गर्न खोजे पछि उनीहरुले जिल्ला समन्वय गेट अगाडी तत्काल पुत्ला दहन गरेका थिए । सरकारले हत्यारा, बलत्कार, मेडिकल माफिया लगायत घटनाका दोषीलाई कारबाही नगरे सम्म आफ्नो आन्दोलन जारी राख्ने नेविसंघले बताएको छ ।