काठमाडौं ३ माघ । नेपालगञ्जबाट रुकुमको राडीबजारतर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस जाजरकोट भेरी-१ रिम्नस्थित कुइनेउटा भीरमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
यो दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते ९ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सामान्य घाइते भएका अन्यको रिम्नमा प्राथमिक उपचार भइरहेको छ ।
मृत्यु हुनेमा डोल्पा जिल्लाका मीनबहादुर बोहरा रहेको घटनास्थलमै रहेका प्रहरी निरीक्षक केशर कार्कीले जानकारी दिए । अनय तीनजना मृतकको पहिचान खुल्न सकेको छैन ।
ती जनाको शव निकालिसकिएको छ भने एकजना गाडीमुनि मृत भएपनि निकाल्न नसकिएको कार्कीले बताए । दुर्घटनामा केही यात्रु हराइरहेको हुन सक्ने आशंका गरेर खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । तर दुघर्टनास्थलमा भीषण पानी परिरहेको र अँध्यारो भएकोले खोज तथा उद्दारमा कठिनाई भएको उनले बताए ।
भेरी–१ रावतगाँउबाट एक महिला र ८ पुरुष तथा तीनजना स्टाफ गरी ११ जनाको चलानी लिएर गएको बसले बाटोमा अरु यात्रु थपेको अनुमान छ । घाइतेहरुका अनुसार बसको ब्रेक फेल भएर भेरीमा खसेको थियो ।
बसको आधा भाग भेरीमा डुबेको छ । उद्दारका लागि भेरी नगरपालिकाका मेयर सीपी घर्तीमगरसहित नगरपालिकाको टोली, नेपाली सेना,स शस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दा घटनास्थल पुगिसकेका छन् । घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दुरीमा पर्छ ।