काठमाडौं, ९ फागुन । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मोन्टेपिलरलाई ५-१ को विशाल गोल अन्तरले पराजित गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टेपिलरविरूध खेलको १३ औं मिनेटमा गोलको खाता खोलेका थिए।
५-१ को जित हासिल गर्ने क्रममा पिएसजीका लागि कुर्जावा, एन्जल डी मारिया, एनकुन्कु र केलिएन एमबाप्पेले गोल गरेका थिए भने एक गोल उसले मोन्टेपिलरबाट आत्मघाती गोलका रूपमा जोडेको हो।
सो आत्मघाती गोल मोन्टपिलरका डा सिल्भाले गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा सो आत्मघाती गोल गरेका हुन्। मोन्टपिलरका लागि मोल्लेटले एक गोल फर्काए ।
३१ औँ मिनेटमा मोल्लेटले मोन्टपिलरका लागि बराबरी गोल फर्काए पनि पहिलो हाफको अतिरिक्त समयमा डी मारियाले गोल गर्दै पिएसजीलाई २-१ ले अग्रता दिलाए ।
दोश्रो हाफमा ७३ औं मिनेटमा एनकुन्कुले तेश्रो गोल गरे भने ७८ औं मिनेटमा आत्मघाती गोलबाट ४-१ को अवस्थामा पुगेको पिएसजीका लागि खेलको ७९ औं मिनेटमा एमबाप्पेले टिमका लागि पाँचौं गोल जोडे। यो सिजनमा १९ खेलमा यो उनको २० औं गोल हो।
पिएसजी आफ्ना दुई स्टार खेलाडी नेइमार तथा कभानीबिनै मैदानमा उत्रेको थियो। जितसँगै २४ खेल खेलेको पिएसजीको लिगमा ६५ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
एजेन्सीको सहयोगमा