काठमाडौं ११ फागुन । नेपा–८ की २४ वर्षीया उरुसा मानन्धरलाई शनिबार दिउँसो करिब २ बजे मेडिसिटी अस्पतालको पोस्ट अपरेसन वार्डबाट जनरल वार्डमा सारियो। लगत्तै हजुरआमाको फोन आयो। उनी कुरा गर्न थालिन् तर बक् फुटेन। त्यसपछि उनको हातबाट एक आफन्तले हत्तपत्त मोबाइल थुतिन्। उरुसासँगै उनका बुवा सुरेन्द्रकाजी र आमा कृष्णदेवी पनि रुन लागे। उनी ललितपुरस्थित एनसेल कार्यालय अगाडि शुक्रबार भएको बम विस्फोटमा घाइते भएकी थिइन्।
‘एनेस्थेसियाले होला अहिले दुखेको छैन’, घरि रुँदै घरि हाँस्दै उनले भनिन्। देब्रे गोलीगाँठाको हाड टुक्राटुक्रा भएकाले दुईपल्ट शल्यक्रिया गरिसकेका छन्। उनको उपचारमा डा. राज राना र निभा चित्रकार रहेको अस्पतालकी मिडिया संयोजक मनिता पोखरेलले जानकारी दिइन्। ६ महिनायता मेडिसिटीमा कार्यरत थिइन्। उनका बुवाका अनुसार भारतको बंगलोरमा बीएससी नर्सिङ सकेर आएकी हुन्। डेढ वर्ष कोलकातामा काम गरेर ७ महिनाअघि मात्र घर फिरेकी हुन्।
सुरेन्द्रकाजीका अनुसार अन्य दिनभन्दा शुक्रबार अबेरसम्म ड्युटी परेकाले अस्पतालको स्टाफ बस छुट्यो। उनले घर फर्कन दाजुलाई बोलाइन्। बनेपाबाट आउजाउ गर्न कठिन भएकाले नैकापस्थित मामाघरमा बस्ने गरेकी थिइन्। दाजुसँग मोटरसाइकलमा जाँदा बमले खुट्टामा भेट्टायो। आमा कृष्णदेवीले भनिन्, ‘नानु भाग्यले बाँची।’ उनले पछिल्तिर ब्याग बोकेकी थिइन्, त्यसमा टिफिनको बट्टा पनि थियो। टिफिन टुक्राटुक्रा भएको छ। उरुसाले भनिन्, ‘धन्न टिफिनले ढाड बचायो।’ विस्फोटमा उनको जुत्ता पनि फाटेको छ।
खबर पाउनासाथ उनका बुवा अस्पताल आए पनि आमालाई केही बताइएको थिएन। त्यसैले आमा शनिबार बिहान मात्र अस्पताल आइन्। छोरी खतरामुक्त रहेको थाहा पाएर ढुक्क भएको सुनाइन्।
अर्की घाइते प्रतीक्षा खड्काकोे उपचारमा डा. अनिल आचार्य व्यस्त छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। शुक्रबार राति नै शल्यक्रिया गरी उनको ढाडबाट धातुको टुक्रा निकालेको पति रितेश खड्काले बताए। ‘प्रेसर कुकरको सिट्ठी ढाडबाट छिरेर छातिबाट निस्कन लागेको थियो’, रितेशले भने।
ढाडबाट छिरेर छातिबाट बमको छर्रा निस्किँदा डाक्टरले प्रतीक्षाको फोक्सो र करङमा चोट लागेको हुनसक्ने आशंका गरेका थिए।
उनीहरू माछाको चारो किनेर मोटरसाइकलमा फर्कंदै थिए। सुरुमा प्रतीक्षाले के भयो थाहै पाइनन्। ‘ढाडमा दुख्यो के भयो मात्रै भनिन्’, पत्नीलाई उद्धृत गर्दै उनले भने, ‘नख्खुबाट घर पुगेर हेर्दा ढाड रगताम्य थियो।’ त्यसपछि चक्रपथमा वनवे भएकाले उपचारका लागि भनिमण्डलस्थित अल्का अस्पताल लगेको बताए। त्यहाँबाट राति नै मेडिसिटी लगियो। प्रतीक्षाका ५ बर्से छोरा छन् भने ससुरा बितेको ४५ दिन मात्र पुगेको छ। बागडोलस्थित तोरण नवजीवन स्कुलमा काम गर्छिन्।
बुवाको निधनपछि दुबईबाट फर्केका रितेशले भने, ‘ढाडबाट छिरेर छातिबाट बमको छर्रा निस्किँदा पनि खतरामुक्त हुनु भाग्यको कुरा हो।’ डाक्टरले फोक्सो र करङमा चोट लागेको हुनसक्ने शंका गरेका थिए। कुनै पनि अंग र नशा नछोई मांसपेशी हुँदै छर्रा निस्केकाले उनी जोखिममुक्त भएकी हुन्।
ठूलै घटनाबाट बाँच्न सफल भए पनि यसलाई उरुसा र प्रतीक्षाका परिवारले गम्भीरतापूर्वक लिएका छन्। सरकारले घटनाको गम्भीरता हेरेर दोषीलाई कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन्। उनीहरूले भने, ‘सर्वसाधारणले सुरक्षा अनुभूत गर्नुपर्छ।’ अन्नपूर्णपोष्टबाट