Logo

‘विप्लवहरु नक्कली कमरेड हुन्, सहमतिमै मूलधारमा नआए जेलमा हालेरपनि ल्याउँछौं’



काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सहमतिकै आधारमा राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले कोशिस गर्ने बताएका छन् । यदि सहमतिमै मूलधारमा नआए जेलमा हालेर भएपनि ल्याउने उनको भनाई छ ।

सोमबार नेकपाको संसदीय दलको बैठकमा सांसदहरुलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सिके राउतसँग सरकारले गरेको सहमतिको विषयमा अनावश्यक टिकाटिप्पणी भैरहेको पनि सुनाए ।

उनले भने,‘एउटा ठूलो पृथकतावादको अन्त्य गरेका छौं । पृथकताबाद समाप्त भएको छ । यो राम्रो भएको छ । तर, कतिले यसको विरोधमै मान्छे उतारे । पृथकतावादको अन्त्य राष्ट्रको ठूलो सफलता हो । राजनीति संग्लिएको छ । राष्ट्रिय एकता भएको छ ।’
उनले विप्लव समूह मुलुकको विकास निर्माणका काम हुन नदिनेतर्फउन्मुख रहेको आरोप लगाए । उनले थपे,‘लोकतन्त्रलाई अवरोध पार्ने,

समाजवादउन्मुख हाम्रा प्रयासहरुलाई अवरोध गर्ने, त्यसमा बाधा–व्यवधान गर्ने, र कम्युनिष्ट पार्टीको सरकारलाई असफल पार्ने, नाम कम्युनिष्ट पार्टी राख्ने, हँसिया हथौडा राख्ने । उनीहरुको सोचाई सोचाइमात्रै भैदिएको भए, बेग्लै कुरा हुन्थ्यो । तर, उनीहरुले हत्याको लिष्टमा नेताहरु राख्ने, अनि मान्छे खटाउने गरेका छन् । नेता मार्नको लागि ‘क’ फलानो भनेर खटाउने, क भनेको कमरेड, ‘क’ नक्कली कहरु हुन । त्यो कुरा छुट दिन सकिँदैन् ।’

नक्कली ‘क’ भन्दै उनले विप्लव समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले प्रयास गर्ने सुनाए । तर, नआए जेलमा बसालेर भएपनि मूलधारमा ल्याउने प्रधानमन्त्रीको चेतावनी छ ।

ओलीले चैत महिनाभित्र नेत्र विक्रम चन्द (विप्लव) समूहलाई नियन्त्रण गरिसक्ने दावी गरेका छन् । ओलीले विप्लव समुहका नेताहरुलाई पक्राउ गर्न थालिएको भन्दै चैत महिनाभित्रै विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गरिसक्ने दावी गरेका हुन् ।

उनले हतियार बुझाउन सरकारले दिएको समय सीमाभित्र हतियार बुझाएर मूलधारको राजनीतिमा नआए चैतभित्र नै नेत्रविक्रम चन्द खोरमा हुने दावी पनि गरे । ओलीले पार्टी एकतामा अनुचित र अनावश्यक ढंगले ढिला भएको स्वीकार्दै अब छिट्टै तल्लो कमिटीसम्मकै एकता टुङ्गिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध गलत प्रचार गरेर सरकारलाई असफल बनाउने प्रयास भईरहेको भन्दै आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा गएर सरकारले गरेका कामको प्रचार गर्न र सरकारविरुद्धका दुष्प्रचारको प्रतिवाद गर्न निर्देशन दिए ।प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम, बजेट र जनताका आवश्यकता सम्बोधन गर्न प्रभावकारी रुपमा जनताको राय सुझाव संकलन गर्न निर्देशन दिए ।

उनले सरकार र पार्टीको लोकप्रियता घट्ने कुनै काम नभएको र लोकप्रियता नघटेको जिकीर गर्दै सरकारका कामलाई थप प्रभावकारी बनाउने भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिए ।  प्रधानमन्त्री ओलीले असफलता अन्तैबाट हुने तर पदमा रहेकाले त्यसको जिम्मेवारी आफुले लिनुपरेको गुनासो गर्दै कमी कमजोरी सच्याउन मन्त्रीहरुलाई निर्देशन दिए ।

त्यस्तै, उनले आज बस्ने मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता छानबिन आयोगको लागि पदाधिकारी चयन गर्न सिफारिश आयोग बनाउने सक्ने सुनाए ।



प्रतिक्रिया दिनुहोस्