काठमाडौं, १२ चैत्र । राष्ट्रिय गौरवका आयोजनाहरुको काम अलपत्र परेकाले तत्काल काम थाल्न सम्वन्धित मन्त्रालयलाई संसदको विकास समितिले निर्देशन दिएको छ ।
मंगलबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । अर्थ र भौतिक योजना मन्त्रालयलाई समन्वय गरी रोकिएका आयोजनाहरु अगाडि बढाउन निर्देशन दिएको हो । समितिका सदस्यहरुले सरोकारवाला मन्त्रालयवीच समन्वयको् अभाव, विजुलीका पोल,जग्गाको मुआब्जा,रकम भुक्तानीलगायतका समस्याका कारण समयमै काम सम्पन्न हुन कठिनाई भइरहेको भन्दै ध्यानाकर्षण गरेका थिए ।
रणनीतिक महत्वका सडक र पुलहरुको निर्माण पनि समयमै रकम भुक्तानी नभएकै कारण अलपत्र परेको सांसदहरुले बताएका छन् । सरकारको विकासशैलीप्रति जनता सन्तुष्ट नभएकोले संघ, प्रदेश र स्थानीय तीनै तहलाई परिचालन गर्दै अधुरा आयोजनाहरुलाई पुरा गर्न सांसदहरुको जोड छ ।
बैठकमा भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले मन्त्रालयले सडक निर्माणलाई तिव्रता दिएको बताउँदै आगामी आर्थिक वर्षसम्म अधिकांश सडक निर्माणको काम सम्पन्न भइसक्ने दावी गरे । उनले यसवर्ष ९० वटा पुल बनिसकेको र अर्को वर्ष झण्डै ३ सय पुल बन्ने जानकारी दिए ।